प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा, मोदीसँग सीमा र परियोजनामाथि केन्द्रित छलफल हुने

Categories:

-

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण आगामी भदौ ३१ गते हुने निश्चित भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नेछन्। नेपाली प्रतिनिधिमण्डल १ असोजमा नै काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

यो भ्रमण प्रधानमन्त्री ओलीको कार्यकालको सम्भवतः सबैभन्दा छोटो भारत यात्रा हुनेछ। भ्रमणको उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने, विगतका सम्झौताहरूलाई कार्यान्वयन गर्ने र केही नयाँ परियोजनाहरू अघि बढाउनेमा केन्द्रित हुने बताइएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, भ्रमणले “ठूला राजनीतिक एजेन्डा भन्दा पनि सहकार्य र सौहार्दलाई प्राथमिकता दिने”छ। भ्रमणअघि नै द्विपक्षीय सीमा व्यवस्थापन समूह (बोर्डर वर्किङ ग्रुप)को गृहसचिव स्तरीय बैठक दिल्लीमा बस्नेछ। नेपालले बैठकको तयारी सुरु गरिसकेको छ।

गत चैतमा थाइल्यान्डको राजधानी बैंककमा भएको बिमस्टेक सम्मेलनमा ओली–मोदीबीच सौहार्दपूर्ण भेट नहुनु, र त्यस क्रममा नेपाल–भारत सीमासम्बन्धी मुद्दा, चुच्चे नक्सा, लिम्पियाधुरा–लिपुलेकजस्ता संवेदनशील विषय उठेको चर्चा भएको थियो। यही विषयले यसपटकको दिल्ली भेटवार्तामा पनि प्राथमिकता पाउने अनुमान छ।

प्रधानमन्त्री ओलीको पहिलाको कार्यकालमा संविधान संशोधनमार्फत नेपालको नयाँ राजनीतिक नक्सा पारित गरिएको थियो, जसप्रति भारतले असन्तुष्टि जनाएको थियो।

यसपटकको भ्रमणमा प्रधानमन्त्री मोदीको आगामी नेपाल भ्रमणबारे पनि सहमति बन्ने सम्भावना छ। स्रोतका अनुसार मोदी कात्तिक पहिलो साता नेपाल आउन सक्ने र सम्भवतः काठमाडौंभन्दा बाहिरको धार्मिक वा पर्यटकीय स्थलमा ओलीसँग भेट गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य