काठमाडौं, साउन ४ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता हुने भएको छ। झण्डै तीन वर्षपछि पार्टी कार्यालय पुग्न लागेकी भण्डारीको यो भ्रमणलाई एमालेभित्र नेतृत्वको दाबीसहितको सक्रिय राजनीतिको रूपमा हेरिएको छ।
पार्टी विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सिमा हटाउने विषयमा चलिरहेको बहसको बीचमा ओली र भण्डारीबीचको भेटलाई राजनीतिक वृत्तले निकै अर्थपूर्ण ठानेको छ। अध्यक्ष ओली हालैको अन्तरवार्तामा भण्डारीलाई ‘असक्षम’ भन्न नहिचकिचाएको अवस्थामा दुई नेताबीचको प्रत्यक्ष संवाद पार्टीभित्रको आन्तरिक गुटबन्दी र नेतृत्व प्रतिस्पर्धालाई झनै चर्काउने सम्भावना देखिएको छ।
पार्टीको नेतृत्वमा निरन्तर रहिरहन चाहेका ओलीलाई उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेताहरूको साथ छ। अर्कोतर्फ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा भने भण्डारीको पक्षमा खुलेर उभिएका छन्।
एमाले सचिवालय र पोलिटब्युरो बैठकहरूले उमेर हद हटाउने संकेत दिएसँगै ओलीले आफूलाई नै नेतृत्वमा निरन्तर राख्ने प्रयत्न गरिरहेको आभास भइरहेको छ। यस्तै बेला पार्टीको पुरानो अनुहार भण्डारीको पुनरागमनले नयाँ शक्ति सन्तुलन र संभावित प्रतिस्पर्धाको संकेत दिएको छ।
आजको भेटवार्तामा नेतृत्व हस्तान्तरण, भविष्यको रणनीति तथा विधान संशोधनबारे खुला छलफल हुने अनुमान गरिँदैछ। भेटपछि दुबै पक्षको धारणा सार्वजनिक भएमा पार्टीभित्रको शक्ति सन्तुलन कुन दिशामा मोडिन्छ भन्ने विषयमा थप स्पष्टता आउनेछ।

