काठमाडौं,४ साउन । देशभर भइरहेको लगातारको वर्षासँगै बाढी पूर्वानुमान महाशाखाले साउन ४ गते (आइतबार ) को लागि बाढीको सम्भावित जोखिमबारे चेतावनी जारी गरेको छ। महाशाखाले कुल ५१ जिल्लालाई एल्लो अलर्ट (Yellow Alert) जारी गर्दै आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताएको हो।
महाशाखाका अनुसार, आज बिहानको जलसतह मापनमा कोसीका सहायक नदीहरू तमोर र कन्काईको बहाव सतर्कता तह आसपास रहेको छ भने नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र अन्य प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल भए पनि बढ्ने सम्भावना प्रबल रहेको छ।
विशेषगरी इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेख र आसपासका जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ।
त्यस्तै सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा लगायतका क्षेत्रमा समेत ससाना नदीहरूमा आकस्मिक बाढी आउनसक्ने मध्यम जोखिम रहेको जनाइएको छ।
महाशाखाले ती जिल्लाका बासिन्दालाई नदी किनार तथा डुबान सम्भावित क्षेत्रबाट टाढा रहन, सतर्कता अपनाउन तथा स्थानीय प्रशासनद्वारा जारी सूचनाहरू पालना गर्न अनुरोध गरेको छ।
यदी भारी वर्षा निरन्तर रह्यो भने केही क्षेत्रमा जनधनको क्षतिको जोखिम समेत रहने भएकाले पूर्वतयारी र सावधानी अति आवश्यक हुने विज्ञहरूले बताएका छन्।

