काठमाडौं । मौसम विज्ञान विभागले आइतबार (साउन ४) देशका विभिन्न भागमा भारी वर्षाको पूर्वानुमान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकलाई अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ।”
साथै, उनले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।
मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका पहाडी र हिमाली क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाको आज बिहान ६ बजे जारी बुलेटिनअनुसार कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
बागमती, कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ ।
आज राततिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने र कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिक, स्थानीय प्रशासन र उद्धार निकायहरूलाई उच्च सतर्कता अपनाउन विभागले आह्वान गरेको छ ।
विभागका अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी पानी पर्नु भारी वर्षा मानिन्छ भने १०० मिलिमिटरभन्दा माथि धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि अति भारी वर्षा मानिन्छ ।
संभावित बाढी, पहिरो र अन्य जोखिमबाट जोगिन समयमै पूर्वतयारी र सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

