काठमाडौं, ३ साउन – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने तयारी अघि बढाएको छ। यस विषयमा अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक रूपमा जिम्मेवारी दिइएको छ।
एमाले पोलिटब्युरोको दुई दिनसम्म चलेको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा कसरी संलग्न गराउने र कस्तो भूमिका दिने भन्ने विषयमा निर्णय गर्न अध्यक्ष ओलीलाई नै जिम्मा दिने निर्णय गरेको हो।
बैठकको समापन गर्दै अध्यक्ष ओलीले नेताहरूबाट आएको विभिन्न सुझावहरूलाई सकेसम्म सम्बोधन गरेर आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठक अघि नै टुंगो लगाइने जानकारी दिएका छन्।
पोलिटब्युरो बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा कसरी संलग्न गराउने र कस्तो जिम्मेवारी दिने भन्नेबारे स्वयम् अग्रसर भएर प्रस्ताव तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “उहाँलाई कसरी काम लगाउने, के जिम्मा दिने भन्नेबारे उहाँ आफैले जिम्मा लिनुभयो,” ती नेताले बताए।
ती नेताका अनुसार, अध्यक्ष ओलीले आवश्यक सुझावहरूलाई यथासम्भव समेट्ने र केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस गर्ने बताएका छन्।
यसअघि पनि विद्या भण्डारीले विभिन्न सार्वजनिक कार्यक्रममा एमाले र अध्यक्ष ओलीको पक्षमा अभिव्यक्ति दिँदै आएकी छन्। राष्ट्रपतिका रूपमा कार्यकाल सकिएपछि उनको सक्रियता पनि राजनीतिक रूपमा देखिन थालेको छ।
पार्टीले उनलाई सल्लाहकार भूमिकामा ल्याउने वा विशेष अभियानका लागि जिम्मेवारी दिने सम्भावना रहेको बताइन्छ। यद्यपि औपचारिक निर्णय सचिवालय बैठकपछि मात्र हुने जनाइएको छ।
अब साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा विद्या भण्डारीको भूमिकाबारे स्पष्ट तस्वीर आउने अपेक्षा गरिएको छ। एमालेभित्र भण्डारीको सहभागिताले राजनीतिक सन्देशसमेत दिन सक्ने आँकलन गरिएको छ।



