विधान संशोधनप्रति असहमति, स्थायी समिति सदस्य कर्ण थापाको अडान यथावत्

-

काठमाडौं, साउन ३ । नेकपा (एमाले) स्थायी समिति सदस्य कर्ण थापाले पार्टीको विधानबाट ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमालाई हटाउने निर्णयविरुद्ध आफ्नो अडान यथावत् दोहोर्याएका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकको दोस्रो दिन बैठकमा सहभागी हुनुअघि थापाले सामाजिक सञ्जालमार्फत ‘न्याय र सत्यको लडाइँ जारी रहने’ बताएका छन्। उनले आफू विगतमा पनि नेताहरूको व्यक्तिवादी व्यवहार र शक्ति दुरुपयोगविरुद्ध लडेको स्मरण गर्दै अहिलेको अडान पनि त्यसकै निरन्तरता भएको बताएका छन्।

“वामदेव, सीपी र आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा मैले जोगाउन लडें। पछि माधवले केपी शर्मा ओलीलगायत नेताहरूलाई अपमान गर्दा फेरि माधवविरुद्ध लडेँ,” थापाले लेखेका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीलाई शून्यबाट अगाडि बढाउन भूमिका खेलेको दाबी गर्दै अहिलेको असहमति पार्टीको दीर्घकालीन हितका लागि भएको उल्लेख गरेका छन्।

“सत्य र न्यायको लडाइँ जारी छ, जारी रहनेछ। व्यक्तिवाद र सत्ताको दुरुपयोगविरुद्ध म जहिले पनि बोल्छु, किनभने म पार्टीभित्र स्वस्थ परम्पराको पक्षमा छु।”
— कर्ण थापा, स्थायी समिति सदस्य, नेकपा (एमाले)

 

पार्टी नेतृत्वप्रति आलोचनात्मक अभिव्यक्तिका कारण थापा र अध्यक्ष ओलीबीच शुक्रबारको बैठकमा भनाभन भएको स्रोतले जनाएको छ। ओलीले “बाहिर भन्न नहुने कुरा किन सार्वजनिक गर्‍यौ?” भन्दै थापासँग असन्तोष पोखेका थिए।

यसैबीच, बैठकमा स्थायी समिति सदस्य शेरबहादुर तामाङले सामाजिक सञ्जालमा पार्टीविरुद्ध धारणा सार्वजनिक गर्ने नेतालाई कारबाही गर्नुपर्ने माग राखेका छन्।

पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेश गरेका छन्। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिबारै टुंग्याउने तयारी गरिएको छ।

विधान संशोधन प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम जारी छ। उमेर र कार्यकालको सीमा हटाउने प्रस्तावले पार्टीभित्र गहिरो वैचारिक बहस जन्माएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य