विद्या भण्डारीको सदस्यता नवीकरणबारे निर्णय कमिटीबाट हुन्छ : ओली

-

काठमाडौं, २ साउन  — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणका विषयमा छलफल गरेर निर्णय गरिने बताएका छन्।

बिहीबार च्यासलमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको विश्वासका आधारमा भण्डारीलाई दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी दिइएको उल्लेख गरे। ‘उहाँ सकृय राजनीतिमा फर्कनुहुन्न भन्ने विश्वासका साथ पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाएको हो,’ उनले बैठकमा भनेको बताइएको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार ओलीले भण्डारीको पार्टी सदस्यता अहिलेसम्म नवीकरण नभएको उल्लेख गर्दै यस विषयमा विधानअनुसार निर्णय हुने बताए। ‘सदस्यताको निर्णय कमिटीले गर्छ, यो मेरो व्यक्तिगत धारणा हो,’ ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले जानकारी दिए।

ओलीले पार्टीभित्रको अराजकता र अनियन्त्रित व्यवहारप्रति पनि टिप्पणी गरेका छन्। ‘पार्टीलाई ठूलो र संगठित हमला भइरहेको छ, यस्तो बेला पार्टीभित्रबाटै बबण्डर उठाउनु गलत हो,’ उनले भनेका थिए, ‘नरोकिए पार्टीले रोक्छ।’

पूर्वराष्ट्रपति भण्डारीको सकृय राजनीतिमा फर्किने चर्चा आफूले पत्रिकाबाट थाहा पाएको भन्दै ओलीले संवैधानिक मर्यादा र पार्टी निर्णयको सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

उनले पार्टी विधानको मनपरी व्याख्या गर्ने प्रवृत्तिको पनि आलोचना गर्दै पार्टी पद्धति र प्रक्रिया भित्रै छलफल हुनुपर्नेमा जोड दिए। ‘पार्टीमाथि आक्रमण भइरहेका बेला पार्टीको निर्णयभन्दा बाहिर गएर बोलेको उचित हुँदैन,’ उनले भने।

पूर्वराष्ट्रपति भण्डारीले हालैको समय राजनीतिक भेटघाट र कार्यक्रममा सक्रिय देखिँदै आएकी छन्। एमालेभित्र उनी सक्रिय राजनीतिमा फर्कने विषयमा चर्चा सुरु भएको छ भने नेताहरूबीच मतभेद पनि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य