काठमाडौँ,१ साउन । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँग दिशा निर्देश अनलाइन टिभीमा कुराकानी गर्दै ओलीले भण्डारीसँग न त सल्लाह भएको बताए, न त पार्टीले नै राजनीतिक भूमिका स्वीकारेको अवस्था रहेको उल्लेख गरे।
“अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन,” ओलीले भने, “किनभने पार्टीले उहाँ राजनीतिमा आउनुहुन्छ भन्ने ठानेको छैन। उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानु भएको छ।”
ओलीका अनुसार विद्या भण्डारीले पार्टीसँग औपचारिक डङ्गमा कुनै पनि सरसल्लाह गरेकी छैनन्। “उहाँले सार्वजनिक रूपमा केही बोलेको कुरा हामीले सुनेका हौँ,” उनले भने, “तर मलाई प्रत्यक्ष रूपमा उहाँले केही भन्नुभएन, पार्टीमा पनि औपचारिक सल्लाह छैन।”
यद्यपि, भण्डारीले पुनः सक्रिय हुने सङ्केत दिएका अभिव्यक्तिहरूका आधारमा अब पार्टीले आवश्यक निर्णय लिनुपर्ने समय आएको ओलीले स्वीकार गरे। “उहाँले म आउँछु भनेपछि निर्णय गर्नुपर्छ,” उनले भने, “नैतिक रूपमा, गणतन्त्रमा, समाज, राजनीति र व्यवस्थामा यसको के असर पर्छ भन्नेबारे सोच्नुपर्छ।”
ओलीका तर्फबाट आएको यो टिप्पणीले पूर्व राष्ट्रपति भण्डारीको राजनीतिमा पुनः प्रवेशबारे पार्टीभित्र गम्भीर बहस सुरु भएको सङ्केत देखिएको छ। भण्डारीले पछिल्ला दिनमा पार्टी कार्यक्रम र भेटघाटमा सक्रियता बढाएकी छिन्, जसले उनको सक्रिय राजनीति फिर्ताको अड्कललाई बल दिएको छ।
अब एमालेले भण्डारीप्रति के निर्णय लिन्छ भन्ने चासो राजनीतिक वृत्तमा चुलिएको छ।


