काठमाडौँ,१ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जातीय विभेदको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले ‘बा’ को संज्ञा दिँदै ओलीको राजमा सगोत्रीहरूलाई जे गरे पनि माफ हुने तर मधेसीमाथि दोहोरो मापदण्ड अपनाइएको गम्भीर आरोप लगाएका हुन्।
हालै घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको विषय उठाउँदै यादवले गुप्ता मधेसी भएकै कारण राजीनामा दिन बाध्य पारिएको दाबी गरेका छन्।
उनले लेखेका छन्, “ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जो गर्न पनि छूट छ।”
भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसम्बन्धी सार्वजनिक अडिओमा ३२ लाख रुपैयाँ घुस रकम जेब्रा झोलामा मन्त्री क्वार्टरमा बुझाएको भनिए पनि कुनै कारबाही नहुनु ओली नेतृत्वप्रति यादवको प्रश्न हो।
यादवले थप भनेका छन्, “बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूको संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए, अझै ठूलो काण्ड गरे पनि ‘बा’ को शिरमा विराजमान भइरहन्थे।”
उनको तर्क अनुसार, बलराम अधिकारीको स्थानमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति भएको भए उसलाई तत्काल राजीनामाको आदेश दिइसकिएको हुने थियो।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवको यो अभिव्यक्ति ओली नेतृत्वको सरकारमाथि जातीय पूर्वाग्रहको गम्भीर आरोप हो, जसले सत्ता पक्षमा नै बहस सिर्जना गर्ने संकेत देखिएको छ।


