काठमाडौँ,१ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा राजीनामा दिइसकेका छन्। तर, त्यही प्रकरणसँग जोडिएको अर्को अडिओ सार्वजनिक भएपछि पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी भने अझै पदमा टिकिरहेकै छन्।
नयाँ अडिओमा मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा सेटिङ मिलाएर हडप्न बिचौलिया सुजन लामामार्फत ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको छ। अडिओमा मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत ‘जेब्रा झोलामा’ उक्त रकम मन्त्री क्वार्टरमै बुझाइएको उल्लेख छ।
घटना यतिमै सीमित छैन। अडिओमा मन्त्री अधिकारीका छोरा मनोज अधिकारी र तत्कालीन भूमि सचिव अर्जुन पोखरेलको समेत संलग्नता बताइएको छ। लामाले सचिव पोखरेलले पनि पाँच लाख रुपैयाँ घुस लिएको दाबी गरेका छन्। ‘डेढ करोडभन्दा बढी रकम घुस र घुमघाम खर्चमा गइसकेको’ भन्ने अडिओमा सुन्न सकिन्छ।
यसबिच, भूमि सुधार मन्त्रालय मातहतको मालपोत कार्यालय भक्तपुरका प्रमुख अधिकारी कुमार आचार्य २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेपछि थप बहसको विषय बनेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नायब सुब्बा र कार्यालय सहयोगीसहित पक्राउ गरेको हो।
एमालेभित्रैबाट पनि आन्तरिक आलोचना सुरु भएको छ। एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमार्फत मन्त्री गुप्ताले राजीनामा दिनु तर अधिकारीले आफू निर्दोष भएको दाबी मात्र गर्नु आपत्तिजनक भएको बताएका छन्।

