काठमाडौं,१ साउन । नेपाली पत्रकारिता क्षेत्रका एक अनुभवी नाम किशोर श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका हुन्।
अफ्रिकी मुलुक तान्जानियाको आरुसामा जारी विश्व प्रेस काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन्। उनी यसअघि काउन्सिलका महासचिवको जिम्मेवारी पनि सम्हालिसकेका थिए।
३ वर्षे कार्यकालका लागि गठन भएको नयाँ कार्यसमितिको निर्वाचनमा श्रेष्ठको प्रस्तावक भारतका सुधीरकुमार पण्डा थिए भने समर्थकहरूमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका थिए।
नयाँ कार्यसमितिको अध्यक्षमा डेभिड ओम्ओयो (केन्या), अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन्। महासचिवमा तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा चयन हुँदा, कोषाध्यक्षमा टर्कीका तामेर अताबारुत निर्वाचित भए।
सोमबारदेखि सुरु भएको सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सम्मेलन पर्सि औपचारिक रूपमा समापन हुँदैछ।
नेपालका वरिष्ठ पत्रकार श्रेष्ठले यो सफलता प्राप्त गर्नु नेपाली सञ्चार जगतको गौरवको विषय भएको बताइएको छ। उनी विगत तीन दशकदेखि पत्रकारिता र मिडिया नीति निर्माणमा क्रियाशील छन्।
प्रेस स्वतन्त्रता, सञ्चार नीतिको सुदृढीकरण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित गठन भएको विश्व प्रेस काउन्सिलमा श्रेष्ठको उपस्थिति नेपालको प्रतिष्ठालाई अझ उचाइमा पुर्याउने विश्वास लिइएको छ।

