मन्त्री भगवती न्यौपानेको प्रतिबद्धता: “म गर्ने काममा नै विश्वास राख्छु”

Categories:

-

काठमाडौं,१ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रुपमा सपथ लिएकि नेकपा (एमाले)की नेता भगवती न्यौपानेले आफू सधैं निष्ठा, इमान र नैतिकतामा अडिग रहने प्रतिबद्धता जनाएकी छिन्। उनले पदभार ग्रहणपछि सार्वजनिक अभिव्यक्तिमार्फत आफूले अब “भन्ने” भन्दा “गर्ने” कुरामा विश्वास गर्ने बताइन्।

“मैले संविधानअनुसार मन्त्री पदमा सपथ लिइसकेको छु। अब म नेपाली जनताको हितका लागि इमानदार र पारदर्शी रूपमा काम गर्नेछु,” मन्त्री न्यौपानेले भनिन्, “म न त क्षणिक लोकप्रियता चाहन्छु, न भाइरल बन्ने रहर राख्छु। म जिम्मेवार सरकारको सदस्य हुँ, त्यसअनुसार नै काम गर्नेछु।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गर्दै भनेकी छिन्, “प्रधानमन्त्रीज्यूको काम गराईको स्पीड र स्प्रीटको म सधैं प्रशंसक थिएँ। उहाँका विचार र योजनालाई कार्यान्वयनमा उतार्न मेरो सक्रिय भूमिका रहनेछ।”

तनहुँलाई आफ्नो जन्मथलो र कर्मथलो बताउँदै न्यौपानेले त्यहाँका जनताप्रति विशेष आभार प्रकट गरिन्। उनले नेकपा (एमाले)का नेता तथा कार्यकर्तालाई समेत धन्यवाद दिँदै आफू सबैको साथ, सुझाव र समर्थनको अपेक्षा राख्ने बताइन्।

मन्त्री न्यौपानेले विगतमा आफूबाट कुनै पनि भ्रष्टाचारजन्य कार्य नभएको दाबी गर्दै अब पनि त्यस्ता गतिविधिबाट टाढै रहने दृढता जनाइन्। “मेरो सबैभन्दा ठूलो शक्ति नै नैतिक बल हो, र म त्यो कहिल्यै गुमाउने छैन,” उनले भनिन्।

अन्त्यमा, उनले विभिन्न माध्यमबाट आफूलाई शुभकामना दिने सम्पूर्ण शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य