घुस काण्डले गर्‍यो ठूलो उलटफेर, राष्ट्रिय सभा सदस्य न्यौपाने बनिन् मन्त्री

-

काठमाडौं, ३१ असार — विवादास्पद घुस प्रकरणपछि पदत्याग गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार गुप्ताको स्थानमा नेकपा एमालेकी नेतृ भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। घुस मागेको अडियो सार्वजनिक भएपछि गुप्ताले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको नेतृत्व अब भगवती न्यौपानेले सम्हाल्नेछिन्।

राष्ट्रिय सभा सदस्य रहेका न्यौपाने २०७६ सालमा निर्वाचित भएकी थिइन्। त्यसअघि उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उदयराज गौलीसँग ९ मतले पराजित भएकी थिइन्।

राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदा महिलातर्फ न्यौपानेलाई ३ हजार ३६६ मतभार प्राप्त भएको थियो भने कांग्रेसकी विमला गौचनले २ हजार ३४० मतभार प्राप्त गरेकी थिइन्।

न्यौपानेको राजनीतिक यात्रा अनेरास्ववियु हुँदै सुरु भएको हो। गोर्खा क्याम्पसमा अध्ययनको क्रममा अनेरास्ववियुबाट सक्रिय राजनीति थालेकी उनी अनेमसंघकी जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै एमाले तनहुँ जिल्ला सचिव र पछिल्लो समय केन्द्रीय सदस्य बनेकी छन्।

उनले एमालेको चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई राष्ट्रिय सभामा प्रमुख सचेतकको भूमिका समेत निर्वाह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य