गुप्ता पदमुक्त नभए पार्टी नै डुब्छ’ — राजन भट्टराईको आक्रोशपूर्ण सन्देश

-

काठमाडौं, ३१ असार — घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा दिनुपर्ने भन्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले सार्वजनिक रुपमा सुझाव दिएका छन ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत मन्तव्य दिंदै मन्त्री गुप्ताले पदमुक्त भई स्वतन्त्र छानबिनमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । “संघीय मामिला मन्त्रीज्यूले पदमुक्त भएर छानविनका लागि आफू तयार रहेको छु भन्दा नै सरकार, पार्टी र उहाँ स्वयंको हित हुन्छ,” भट्टराईले उल्लेख गरे ।

भट्टराईले स्पष्ट रूपमा संकेत गरेका छन  कि पार्टी र सरकारको नैतिक आधार जोगाउन मन्त्रीले राजीनामा दिनु अपरिहार्य छ। यसरी सार्वजनिक रूपमा आएको एमाले नेताको प्रतिक्रिया पार्टीभित्र बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।

केही दिनअघि कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा थमौती गर्न र भूमि समस्या समाधान आयोगको कास्की अध्यक्षमा नियुक्त गर्न भन्दै मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो। सो अडियोमा मन्त्री गुप्ताको संलग्नता रहेको दाबी गरिएको छ, जसले प्रशासनिक मर्यादा र विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ।

हालसम्म मन्त्री गुप्ताले उक्त अडियोप्रति कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारभित्र यो विषयले चर्किंदै गएको छ।

एमाले स्थायी कमिटी सदस्यबाटै आएको यस्तो कडा सुझावलाई राजनीतिक वृतमा गम्भीर दबाबको संकेत मानिएको छ। अब मन्त्री गुप्ता स्वयंले जिम्मेवारी बहन गर्दै राजीनामा दिने या नगर्ने निर्णयले आगामी दिनमा पार्टीको भित्रि गणित र सरकारको विश्वसनीयता दुवैमा असर पार्ने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य