काठमाडौं, असार ३० – काठमाडौं उपत्यकाबाट पछिल्ला तीन वर्षमा १,४०० भन्दा बढी दुईपांग्रे सवारीसाधन चोरी भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म १,३९६ वटा मोटरसाइकल र स्कुटर चोरी भएका छन्, जसमा अधिकांश सवारीसाधनहरू ट्राफिक प्रहरीको सक्रियतामा फेला पारिएका छन्।
२०७९/८० मा ४९९, ०८०/८१ मा ४१७ र चालु वर्ष २०८१/८२ मा असार ३० सम्ममा ४८० वटा दुईपांग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ। सोमबारमात्रै (असार ३०) २० वटा मोटरसाइकल तथा स्कुटर सवारीधनीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
ट्राफिक प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार ती सवारीसाधनहरू केही वास्तविक नम्बरप्लेटसहित फेला परेका थिए भने केही नक्कली नम्बरप्लेट राखिएको अवस्थामा उपत्यकाका विभिन्न स्थानबाट बरामद गरिएको हो। कार्यालयमा दर्ता भएका उजुरी, सीसीटीभी फुटेज, प्रविधि र सुराकीका आधारमा खोजी कार्य अघि बढाइएको अधिकारीको भनाइ छ।
चोरीका घटनामा संलग्न ७४ जनालाई पनि विभिन्न प्रहरी वृत्तमार्फत कारबाही प्रक्रिया अघि बढाइएको छ। प्रहरीले सार्वजनिक स्थानहरूमा पार्किङ गर्दा सावधानी अपनाउन, ट्र्याकिङ सिस्टम जडान गर्न र चोरी भएमा तुरुन्त निवेदन दिन सवारीधनीहरूलाई आग्रह गरेको छ।
ट्राफिकको यो अभियानले सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास बढाएको र चोरी नियन्त्रणमा सघाउ पुगेको प्रतिक्रिया आएको छ। प्रहरी स्रोतका अनुसार आगामी दिनमा प्रविधिको अधिकतम प्रयोग गर्दै अझ प्रभावकारी ढंगमा सवारी चोरी नियन्त्रण गरिने तयारी भइरहेको छ।


