काठमाडौं, ३० असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्ने तयारी सरकारले थालेको छ । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति तथा कर्मचारी सरुवासम्बन्धी विषयमा बिचौलियामार्फत घुसको डिल भएको अडिओ सार्वजनिक भएपछि चौतर्फी दवावपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर भएका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अडिओ प्रकरणबारे मन्त्री गुप्तासँग विस्तृत जानकारी लिने तयारी गरिरहेका छन् । स्रोतले भन्यो, “प्रधानमन्त्रीज्यूले मन्त्रीसँग ब्रिफिङ लिनेछन् । राजीनामा गर्न भनिनेछ, नमाने बर्खास्त गरिनेछ ।”
अडिओको प्रमाणिकता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि पठाइएको छ । सो अडिओमा मन्त्री गुप्ता र एक बिचौलिया बीच लाखौं रुपैयाँको लेनदेन सम्बन्धी संवाद रहेको बताइएको छ । सरकारी नियुक्ति तथा सरुवामा हुने कथित घुसप्रथालाई उजागर गर्ने यो प्रकरण सार्वजनिक भएसँगै मन्त्री गुप्तामाथि दबाब झनै बढेको छ ।
यसबारे निष्पक्ष छानबिन गर्न सरकार तयार भएको बताइएको छ । मन्त्री पदबाट हटाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अन्य नियामक निकायलाई अनुसन्धानका लागि पत्राचार गरिने बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि पनि गुप्तामाथि विभिन्न नियुक्ति तथा सरुवामा आर्थिक लेनदेनको आरोप लाग्दै आएका थिए । तर यसपटक अडिओ प्रमाणसहित प्रकरण सार्वजनिक भएपछि पार्टीभित्रै पनि उनीमाथि प्रश्न उठ्न थालेका छन् । नेकपा (एमाले) भित्रैबाट मन्त्रीको राजीनामा वा बर्खास्तीको माग चुलिएको छ ।
प्रधानमन्त्री ओलीले ‘ म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने अभिव्यक्तिसहित सरकार संचालन गरिरहेका बेला आफ्नै मन्त्रिपरिषद्को सदस्य घुस प्रकरणमा मुछिनु उनको राजनीतिक छविका लागि चुनौती बनेको छ । अब प्रधानमन्त्रीको निर्णयले सरकारको नैतिक धरातल पुष्टि गर्नेछ ।

