ओलीको अदालतमा हाजिर  एक ‘अभियुक्त’ विद्यादेवी भण्डारी  

Categories:

-

बालकुमार नेपाल
काठमाडौ, ३० असार । महिला आन्दोलनमा शिखर चुमेकी  पूर्व राष्ट्रपति विद्या भण्डारी यस बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको अदालतमा ‘ अभियुक्त बनेकी छन् । उनको अभियोग हो – एमालेमा अध्यक्ष बन्छ भन्नु । उनको घोषणाले  ओली त ठिकै भए तर उनका नाम लिएर जिन्दगीको व्यवसाय गर्नेहरूको सातो पुत्लो उडेको छ। तिनको ठेक्का पट्टा र बिचौलियाहरू  सिधै बालुवाटारबाट निस्कँदा भेटिने अख्तियारको ढोकाबाट टाढा छैनन् । सबैलाई थाहा छ ओली प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटेपछि को कुन बलात्कार मुद्दामा पर्छन्, को भ्रष्टाचारमा पर्छन्? तिनका अभिलेख पनि समयले सार्बजनिक गर्ने छ।
केपी ओली नेपालको लोकतान्त्रिक आन्दोलनमा कसैले प्रश्न गर्ने नेता होइनन् । उनको निष्ठा चरित्र र भावनामा बुझ्ने ‘ किचेन क्याबिनेट’ भइदिएको भए उनी  मदन भण्डारीका असल उत्तराधिकारी हुने थिए। अहिले पनि उनी भ्रष्ट छन्, चरित्रहीन छन् भनेर उनका आँखा अगाडि उभिएर भन्न सक्ने कोही पनि छैनन्  र त्यो हुँदा पनि होइन।
देशलाई अन्धकामा राख्नेहरू ओलीका सपनालाई उडाउँछन् । ओली आफै विरुद्ध नारा लगाएका मान्छेहरू देखेर मुस्कुराउँछन्। तर  ओलीका भक्तहरू तिनलाई गएर भकुर्छ। ओलीले पानीको बोतलमा मेरो फोटो टाँस भन्दैनन् । तर भक्तहरू उस्तै परे शौचालयमा जाने लोटामा पनि फोटो टाँस्न तयार देखिन्छन् । त्यसैले ओली नराम्रा र भिजन नभएका नेता भन्नु मूर्खता हो।
उनी मदन भण्डारी पछिका भिजन भएका नेता हुन् । उनले देखाएको सपनामा नै आज देश चलेको छ। रेलका कुरा गर्दा हावादारी भन्नेहरू आज उनकै ‘फलोअपमा’ छन् । उनले पानी जहाजका कुरा गर्दा उडाउने धेरै छन् । तर नेपाल भू परिवेष्टित मुलुक हो । भीरमा जहाज चल्दैन । तर पानीमा गएर ओलीका सपना हेर्नेहरू कति छन्? सप्तकोसी र नारायणीमा चल्ने स्टिमर के हुन? यी कसका  सपना हुन? कसैले प्रश्न गर्न सक्दैनन्। उनका वरिपरिको घेरालाई केही चिन्ता छैन। कसले हजुरलाई गाली ग¥यो? को नियुक्तिमा को प¥यो भनेर विवरण सुनाउँदै उनीहरूको दिनचर्या बित्छ।
ओली  यो समयका  छर्लङ्ग घाम हुन् । तर घाम जति  छर्लङ्ग भए पनि बादल लागेपछि कसको के लाग्छ। सूर्य ग्रहण लाग्ने दिन जसरी अँध्यारो हुन्छ त्यसै गरी उनका वरिपरि घुम्ने ग्रहले उनलाई अँध्यारो बनाएका छन् । उनीहरू यो कुरा भन्ने आँट गर्दैनन्  किन कि त्यहाँ पनि नयाँ राजतन्त्र प्रवेश गरिसकेको छ।

 नेपालीमा एउटा उखान छ राम्रो फलमा नराम्रो किरा लाग्छ।  नेपाली राजनीतिमा राम्रो फल हुन् केपी ओली । तर उनी माथि नराम्रा किरा लागेका छन् । तिनै किराका कारण राजनीति बजारमा बदनाम बनेका छन्  ओली । यो लेख पढेपछि तिनै किराहरूले कुरा सुनाउने छन् र लेख्नेलाई बालुवाटारमा सजिलै दुस्मन कित्ताको घोषणा गर्ने छन् ।
कुनै पनि पार्टीमा सदस्यता लिएको  कार्यकर्ताको अन्तिम गन्तव्य अध्यक्ष बन्नु नै हो। ओलीको रगतमा जबज छ। तर उनको पछिल्लो कार्यकाल ओलीको नाममा खुद्रा व्यापार गर्नेहरूले डुप्लिकेट माल बेच्न थालेका छन् ।  डुप्लिकेट माल राखेर ओलीको नाम बेचेका छन् । जबजको मर्म विपरीत  बिभिन्न जनसङ्गठनमा ओलीको निकट भन्दै आफ्ना हनुमानहरूको भर्ती गरेका छन् ।
जो जनताबाट अलग भएका छन् ती ओलीका नजिक भएका छन् । जो जनतासँग नजिक छन् ती ओलीको ढोका देख्न पाउँदैनन् । त्यसैले  बढेको ओलीको लोकप्रियताको ग्राफ  आफै झरेको होइन,  उनको नाम राखेर डुप्लिकेट माल बेच्नेहरूले झारेको हो। त्यसैले अहिले अध्यक्षमा उनको विकल्प खोजिएको हो।  डुप्लिकेट माल बेच्नेहरूले  अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेको ठुलो अभियुक्त देखेका छन् , किन कि उनी यो भद्रगोल एमालेलाई सम्हाल्न चाहन्छिन्।
एमाले भित्र हुर्कँदै गएको निराशालाई चिर्न अगाडि बढेकी विद्या भण्डारी र उनका समर्थकलाई ओलीका निकटहरूले सके सम्म च्यासलको पुल तरेर ललितपुर नछिरे हुन्थ्यो भन्ने चाहना राख्छन् । त्यसैले उनीहरू कसले  अब हुने अध्यक्षको कुर्सी ताक्यो भनेर आँखा राता पारेर पार्टी कार्यालय अगाडि बस्ने गरेका छन् ।
यसै कारण भद्रगोल एमालेलाई  सम्हाल्छु भनेर निराश छाएका एमाले जनलाई आसा दिलाएकी भण्डारी अहिले  ओलीको  अदालतबाट अभियुक्त जस्तै बनेकी छन् । उनी माथि आरोप छ अब पार्टीको अध्यक्ष बन्छु भन्ने ।
हरेक सदस्यले पार्टी सदस्यता लिएपछि उसको अन्तिम गन्तव्य भनेको नै अध्यक्ष बन्नु हो। त्यस कारण एउटा पार्टी सदस्यले अध्यक्ष बन्नु अपराध हो कि अपराधीहरूको स्वार्थी  घेराको सल्लाह हो। एउटा पार्टी सदस्यले अध्यक्ष बन्छु भन्नु कुनै अवधि हुन्छ र ? उ निरन्तर काममा लागि रहन्छ र अध्यक्ष बन्छु भनिरहन्छ।  यो कुनै सामुदायिक बनमा  ढुङ्गा बाँध्ने र खोल्ने जस्तो हो पार्टीको अध्यक्ष बन्ने कुरा?त्यसमाथि राष्ट्रपति भइसकेको त्यो उचाइको नेताले अध्यक्ष बन्छु भन्दा किन कसैको सातो उड्नु? यो त  खुसीको कुरा होइन र?
एउटा इमानदार कार्यकर्ताको पङितमा उभिएर भन्ने हो भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको  लोकप्रियताको ग्राफ  अब तल झर्न दिनु हुदैन। त्यसको सही उपाय भनेका अब एमालेको नेतृत्व एक कार्यकाल विद्या भण्डारीलाई दिनु पर्छ ।त्यसको प्रस्तावक भनेको ओली नै हुनुपर्छ । यसो भयो भने उनको लोकप्रियता घटने छ्रैन। तर अब फेरि पनि मै अध्यक्ष बन्ने भनेको भए भीरबाट लड्ने गोरुलाई राम राम  मात्र भन्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य