काठमाडौं, २९ असार । काठमाडौँ महानगरपालिकाले आज आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गर्दैछ। नगरपालिकाको कार्यपालिका बैठकले शुक्रबार नगरसभा बोलाउने निर्णय गरेअनुसार आज दिउँसो २ बजे नगरसभामा बजेट प्रस्तुत गरिने भएको हो।
सामान्यतः स्थानीय तहले असार १० गतेसम्म नै बजेट ल्याउने प्रचलन रहँदै आएको छ। देशभरका ६ महानगरहरूमध्ये ५ वटा महानगरले त्यसैगरी समयमै बजेट सार्वजनिक गरिसकेका छन्। तर, आन्तरिक विवादका कारण काठमाडौँ महानगरपालिकाले निर्धारित मितिमा बजेट ल्याउन सकेको थिएन।
शुक्रबार मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा बोलाउने प्रस्ताव कार्यपालिका बैठकमा राखेका थिए। बैठकमा उपस्थित सदस्यहरूको समर्थन पाएपछि उक्त प्रस्ताव पारित भएको थियो। त्यसपछि अन्य एजेन्डामा छलफल नगरी एक मिनेटमै बैठक समापन भएको थियो।
यस वर्षको बजेट करिब २५ अर्बको हाराहारीमा रहने गरी सीमा निर्धारण गरिएको छ। मेयर शाहले जनचाहना अनुसारको पूर्वाधार विकासमा बजेट बढाउने योजना सुनाएका छन्।
राजश्व परामर्श समितिको सिफारिसअनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको पूर्वाधार बजेट वृद्धि गरिनेछ।
नगरपालिकाले विकास निर्माण, सडक, खानेपानी, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य, तथा वातावरण सरसफाइ जस्ता क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने जनाएको छ।

