काठमाडौँ, २७ असार । नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष बन्ने दाबी गरेकी छिन्। साथै, उनले आफू ‘भावी प्रधानमन्त्री’ का रूपमा पनि खुला रहेको स्पष्ट पारिन्।
इमेज च्यानलका पत्रकार जगदीश खरेलसँगको अन्तरवार्तामा बोल्दै भण्डारीले एमाले नेतृत्वमा आफू तयार रहेको, र पार्टीको भावी रणनीतिमा आफू सशक्त भूमिकामा आउने सङ्केत दिएकी हुन्।
‘तपाईँ अब एमालेको अध्यक्ष बन्ने हो?’ भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘तपाईँको बुझाइमा सत्यता छ। अहिले पार्टीको महाधिवेशन तोकिएको छैन, तर सार्वजनिक बहसकै एजेन्डा बनिसक्यो। मैले लिने जिम्मेवारी तपाईँहरूले सोचेको लाइनतिरै जान्छ, यसमा त कुनै सन्देह छैन।’
भण्डारीको दाबीले एमालेको भावी नेतृत्वको समीकरणमा नयाँ तरङ्ग ल्याएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी को हुने भन्ने बहस चलिरहेका बेला भण्डारीको यो खुलासाले थप राजनीतिक चासो बढाएको छ।
अध्यक्ष ओली पुनः दोहोरिने सम्भावना सम्बन्धी प्रश्नमा भण्डारी भन्छिन्, ‘एक व्यक्तिले सधैँ पदीय जिम्मेवारी धानिरहन सकिँदैन। पार्टीभित्र लोकतान्त्रिक अभ्यास भइरहेको छ, त्यसैले नयाँ नेतृत्व आवश्यक छ।’
उनले ओलीका अघिल्ला अध्यक्ष कार्यकालको चर्चा गर्दै भनिन्, ‘केपी ओली दुई पटक अध्यक्ष भइसक्नुभयो। पार्टी विभाजनका कारण त्यो आवश्यक भयो। तर, मैले चिनेको ओलीजीले अब नेतृत्व हस्तान्तरण गर्नुहुन्छ।’
भण्डारीले हालै मात्र एमालेको सदस्यता नवीकरण गरेकी हुन्। उनले भनिन्, ‘मैले पार्टी परिवारमा सामेल भएको सार्वजनिक रूपमा नै भनेकी छु। अब कसरी जिम्मेवारी दिनुहुन्छ भन्ने कुरा त समयले देखाउँछ।’
प्रचण्डले स्वागत गरेको जस्तै आफूप्रति ओलीको स्वागत अझ बढी हुने विश्वास पनि उनले व्यक्त गरिन्। ‘मलाई पासाङलाई प्रचण्डले गरेको स्वागतभन्दा ओलीजीले बढी नै स्वागत गर्नुहुन्छ होला भन्ने आशामा छु,’ भण्डारीको भनाइ छ।
महाधिवेशनमा अध्यक्ष चयन प्रक्रिया सहमतिबाट हुने चाहना राख्दै उनले भनिन्, ‘अध्यक्ष सहमतिको आधारमा बनौँ। भएन भने प्रतिस्पर्धा त हुन सक्छ।’
भण्डारीको यस अभिव्यक्तिले एमालेभित्रको नेतृत्व प्रतिस्पर्धा मात्रै होइन, भावी प्रधानमन्त्रीका दाबेदार को हुने भन्ने बहस पनि तात्ने सङ्केत देखिएको छ। अब ओलीको धारणा, महाधिवेशनको मिति र पार्टीको आन्तरिक समीकरणले परिस्थितिलाई कता मोड्छ भन्ने प्रतीक्षा गरिनुपर्नेछ।
हेर्नुहोस् अन्तर्वार्ता :

