काठमाडौँ, २७ असार – सङ्घीय संसद् भवनमाथि ड्रोन खसालिएको प्रकरणमा एक कलेजका प्राध्यापकसहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ परेकामा नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजका कोर्स कोर्डिनेटर विजयबाबु रेग्मी र सोही कलेजका चार जना विद्यार्थी – समन महर्जन, सुजल काजी श्रेष्ठ, समीप खतिवडा र अफ्ताव रेजा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले ड्रोन निर्माण तथा परीक्षणका क्रममा संसद् भवनतर्फ ड्रोन उडाएका थिए, जसको एक युनिट असार २४ गते बिहान ९:३० बजे सङ्घीय संसद् भवनको दक्षिण छतमा खसेको थियो।
प्रवक्ता बोहराका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त ड्रोन टेकस्पायर कलेजकै लोकेसनबाट उडाइएको पुष्टि भएको छ। घटना सार्वजनिक भएसँगै प्रहरी अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा पत्ता लागेअनुसार टेकस्पायर कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले विद्यार्थीहरूलाई ड्रोन निर्माण र परीक्षण गर्ने जिम्मा दिएका थिए। यो कार्य असार १३ गते लिखित रूपमा सेमेस्टर परियोजनाका रूपमा दिइएको थियो।
पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बुझाइएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
संवेदनशील क्षेत्रमाथि अनधिकृत रूपमा ड्रोन उडाउने कार्यले सुरक्षा निकायहरूमा चासो बढाएको छ। संसद् भवनजस्तो उच्च सुरक्षा क्षेत्रमाथि ड्रोन खसालिनु गम्भीर विषय भएकाले कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ।

