नारायणकाजी–विद्या भेटपछि प्रचण्ड झस्किए! माओवादीमा असामान्य तनाव

-

काठमाडौँ, २७ असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गोप्य भेटवार्ता गरेका छन्। असार १९ गते बिहान ९ बजे श्रेष्ठ पूर्वराष्ट्रपति भण्डारीको भंगालस्थित निवासमा पुगेका थिए। उक्त भेटवार्ताले माओवादी केन्द्रभित्र तरंग पैदा गरेको छ, विशेष गरी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी नदिई यस्तो भेट गरेको विषयले।

पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। त्यसको केही दिनपछि श्रेष्ठ उनलाई भेट्न पुगेका हुन्। उक्त भेट करिब ४५ मिनेटसम्म चल्यो। तर, छलफलको सम्पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।

यो घटनाले माओवादी केन्द्रभित्र असहज स्थिति सिर्जना गरेको छ। बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले यसबारे स्पष्ट पारे। श्रेष्ठ भने बैठकमा अनुपस्थित थिए। उनी हाल अमेरिकामा छन्। बैठकमा उपमहासचिव जनार्दन शर्मा पनि सहभागी थिएनन्।

बैठकमा प्रचण्डले आफूलाई श्रेष्ठले पूर्व राष्ट्रपतिलाई भेटेको कुरा ढिलो थाहा भएको उल्लेख गर्दै भने, “तपाईंले त विद्या भण्डारीलाई भेट्नुभएछ, मलाई केही भन्नुभएन भनेर मैले सोधेँ। उहाँले पनि भेट गरेको हो, मैले तपाईंलाई जानकारी गराउनुपर्ने, बिर्सेछु, सरी भन्नुभयो।”

प्रचण्डका अनुसार श्रेष्ठ र भण्डारी बीचको भेटमा ‘एकताको प्रस्ताव’ जस्तो बाहिर आएका हल्लाहरू आधारहीन छन्। एक पदाधिकारीका अनुसार, श्रेष्ठले ‘एकताको कुरा कहाँबाट आयो, त्यो त नचाहिँदो कुरा हो’ भनेर स्पष्ट पारेका छन्। भण्डारीले भने श्रेष्ठसँग नन्दबहादुर पुनको राजनीतिमा पुनः सक्रियता बारे जिज्ञासा राखेकी थिइन्।

प्रचण्डले एमालेसँग पार्टी एकताको सम्भावनाबारे पनि प्रष्ट पारे। उनले भने, “पूर्वराष्ट्रपति एमालेमा सक्रिय हुने कुरा उहाँहरूको आन्तरिक विषय हो। तर, पार्टी एकताको कुनै छलफल छैन।” अर्का पदाधिकारीका अनुसार, “केपी ओली र विद्या भण्डारीबीच वैचारिक र राजनीतिक रूपमा तात्विक अन्तर छैन। विद्या हुँदा एकता भइहाल्ने, केपी हुँदा नमिल्ने भन्ने कुरा होइन।”

यो भेटवार्ताले भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन सँगै अन्य दलहरूमाझ सम्भावित समीकरणबारे चर्चा त बढाएको छ, तर माओवादी नेतृत्वले भने स्पष्ट रूपमा एकताको अड्कल बाजी अस्वीकार गरेको छ। नारायण काजीको एकल पहलले प्रचण्ड र पार्टीको अन्तर सम्बन्धमा कस्तो प्रभाव पार्ने हो, त्यो भने समयले नै देखाउनेछ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य