काठमाडौं बौद्धमा आगलागी: अपाङ्ग वृद्धा कोठामै जलेर मृत्यु

Categories:

-

काठमाडौं, असार २६ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा रहेको एक घरमा भीषण आगलागी हुँदा अपाङ्ग वृद्धाको कोठामै जलेर मृत्यु भएको छ। बिहीबार दिउँसो ४ः०६ बजे हरिप्रसाद गौतमको साढे तीन तले घरमा आगलागी भएको थियो।

प्रहरीका अनुसार आगलागीको समयमा भुइँतलाको कोठामा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ कोठामै थुनिएकी थिइन्। काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–३ स्थायी ठेगाना भएकी तामाङ एक खुट्टा नभएको (अपाङ्गता भएको) कारण बाहिर ननिस्कन सकेकी र घटनास्थलमै मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।

आगलागीको जानकारी पाएपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वकर रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयबासी र प्रहरीको संयुक्त प्रयासमा आगो करिब १६ मिनेटपछि, ४ः२२ बजे नियन्त्रणमा लिइएको थियो।

प्रहरीले दिएको जानकारीअनुसार कोठामा रहेका झ्याल, ढोका, लत्ताकपडा लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यद्यपि आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानका लागि मुचुल्का उठाउने कार्य सम्पन्न भइसकेको र घटनास्थलको थप निरीक्षण जारी रहेको प्रहरीको भनाइ छ।

स्थानीय बासिन्दाले घटनालाई निकै दुःखद् र मर्मस्पर्शी भनेका छन्। “उहाँ बाहिर निस्कन सक्ने अवस्थामा हुनुहुन्नथ्यो, ढोका फुटाएर उद्धार गर्ने प्रयास पनि भयो तर ढिलो भइसकेछ,” एक स्थानीयले बताए।

आगलागीको कारण विद्युत् सर्ट भएको हुन सक्ने आशंका गरिए पनि अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य