काठमाडौं, २६ असार । चालु आर्थिक वर्षको समाप्तिमा पाँच दिन बाँकी छँदै उच्च अदालत पाटनले न्याय सम्पादनको क्षेत्रमा ऐतिहासिक सफलता हात पारेको छ। अदालतले चालु आर्थिक वर्ष २०८१/८२ का लागि तोकिएको कुल मुद्दा फछ्र्यौट लक्ष्यको ९९.२१ प्रतिशत प्राप्त गर्न सफल भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उच्च अदालत पाटनले ११ हजार २३४ वटा मुद्दा फछ्र्यौट गरेको जानकारी गराएको हो। यस वर्ष नयाँ दर्ता भएका मुद्दा ११ हजार ८४५ रहेका थिए। अदालतले ११ हजार ३२३ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेको थियो। पाँच कार्यदिन बाँकी रहँदासम्मै यो उपलब्धि हासिल भएको हो।
रजिस्ट्रार श्रीलाल पौडेलका अनुसार दुई वर्ष नाघेका मुद्दा इतिहासमै पहिलोपटक शून्यमा झारिएको छ। चालु वर्षमा १७ हजारभन्दा बढी मुद्दाको लगत कायम भएको थियो।
मुख्य न्यायाधीश लालबहादुर कुँवरले पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गतको यो पहिलो वर्षलाई उत्साहजनक मान्दै, न्याय सम्पादन छरितो, प्रभावकारी र सर्वसुलभ बनाउन निरन्तर प्रयास भइरहेको बताए। अबका दिनमा १८ महिनाभित्र मुद्दा किनारा लगाउने लक्ष्यसहित काम अघि बढाइने पनि उनले जानकारी दिए।
हाल अदालतमा ३६ न्यायाधीशको दरबन्दी रहे पनि २२ मात्र कार्यरत छन्। न्यायिक जनशक्ति कम हुँदा १२ इजलास मार्फत काम भइरहेको छ। अदालतले प्रविधिमैत्री पहल स्वरूप फैसला सफ्टवेयरमा अपलोड, क्यु–आर कोडमार्फत मुद्दाको अवस्था ट्र्याक, अनलाइन तारेख व्यवस्था, ईमेलमार्फत सरकारी सूचना आदान–प्रदानजस्ता सुविधा सुरु गरेको छ।
सेवाग्राहीका गुनासो सम्बोधन गर्न ‘मिट द जज’, ‘जुडिसियल आउटरिच’ जस्ता कार्यक्रम संचालन भइरहेको छ भने अपाङ्गमैत्री पूर्वाधार तथा लिफ्ट सुविधा समेत उपलब्ध गराइएको छ। मासिक प्रगति समीक्षासमेत नियमित रूपमा हुँदै आएको अदालतले जनाएको छ।

