सिन्धुपाल्चोकको भोटेकोसीमा पहिरो: अरनिको राजमार्ग पूर्ण रूपमा बन्द, यात्रु र सवारी अलपत्र

Categories:

-


सिन्धुपाल्चोक,२६ असार ।सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका–२ मा गएराति परेको अविरल वर्षासँगै आएको भीषण पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण तातोपानी नाका जोड्ने मुख्य सडकमार्ग ठप्प भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रहरीका अनुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–२ को क्षेत्रमा माथिबाट आएको ठूलो पहिरोले सडक पूरै पुरिएको छ। त्यस्तै तलतिर भोटेकोसी नदीले कटान गरेपछि सडकको भाग भासिएको छ, जसले गर्दा यातायात पूर्ण रूपमा रोकिएको हो।

सडक बन्द भएपछि तातोपानी नाका हुँदै ओहोरदोहोर गर्ने सवारी साधनहरु बाटोमै अलपत्र परेका छन्। यात्रुबाहक बस, साना तथा ठूला सवारीसाधन र एम्बुलेन्ससमेत पहिरो रोकिएको स्थानमा थुनिएका छन्। यसले गर्दा बिरामी, वृद्धवृद्धा, महिला र बालबालिका समेत घण्टौँसम्म बाटोमै अलपत्र परेका छन्।

स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ। यद्यपि निरन्तरको वर्षाका कारण उद्धार तथा सडक खुलाउने काम सुरु हुन सकेको छैन। मौसममा सुधार आएलगत्तै पहिरो पन्छाउने प्रयास थालिने जनाइएको छ।

तातोपानी नाका नेपालको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक नाका मध्ये एक हो। यो सडक अवरुद्ध हुँदा चीनसँगको सामान आयात–निर्यात पनि प्रभावित हुने देखिएको छ।

स्थानीय बासिन्दाले वैकल्पिक मार्गको व्यवस्था गर्न माग गरेका छन् भने तत्काल पहिरो हटाई सडक सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्।

सिन्धुपाल्चोक पहिरो संवेदनशील क्षेत्र भएकाले सतर्कता अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य