ललितपुर, २५असार ।ललितपुरको सानेपास्थित ‘राजतीर्थ किराना पसल’मा सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छापा मार्दा अवैध क्रिप्टोकरेन्सी कारोबार, हुण्डी र संरक्षित वन्यजन्तुको अंगसमेत फेला परेको छ।
पसल सञ्चालक रूपेशकुमार गुप्ता र उनका सहयोगी विपिनकुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जना भारतको बिहार, मोतिहारीका नागरिक हुन्।
प्रहरीले किराना पसलबाट पाँचवटा मोबाइल, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ र सिसिटिभी डिभिआर बरामद गरेको छ। त्यसैगरी उनीहरू बस्दै आएको सोही घरको माथिल्लो तलाबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना पनि फेला परेको छ।
सिआइबीका एसएसपी होबिन्द्र बोगटीका अनुसार सूचना प्राप्त भएपछि टोली खटाइएको हो। “हामीलाई सूचना प्राप्त भएको थियो कि उनीहरू क्रिप्टो र हुण्डी कारोबारमा संलग्न छन्,” उनले भने, “त्यही आधारमा छापा मारिएको हो।”
बरामद गरिएको मोबाइलको प्रारम्भिक परीक्षणमा गुप्ता क्रिप्टोकरेन्सीमार्फत १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी कारोबारमा संलग्न रहेको देखिएको छ। प्रहरीको अनुसन्धानअनुसार उनले चिनियाँ नागरिकहरूसँग समेत सम्पर्क राख्दै क्रिप्टो कारोबार गरिरहेको हुन सक्ने आशंका गरिएको छ।
गुप्ताले प्रारम्भिक बयानमा आफूले ६ महिनादेखि क्रिप्टो कारोबार गरेको स्वीकार गरे पनि प्रहरीले त्यो अवधि अझ लामो हुन सक्ने जनाएको छ। उनले विपिनकुमारलाई हुण्डी रकम डेलिभरी गर्न प्रयोग गर्ने गरेको खुलेको छ।
हाल बरामद गरिएका सबै मोबाइलहरू फरेन्सिक परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाइएको छ। यस घटनाबारे प्रहरीले अब भौतिक र अभौतिक मुद्रा कारोबार, हुण्डी तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको छ।

