काठमाडौं, असार २५ – नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसद्मा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्को अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा संसद्को मुल उद्देश्य नै ओझेलमा परेको धारणा व्यक्त गरे।
सांसद नेम्वाङले लोकतन्त्रमा स्वच्छ र तथ्यमा आधारित बहस आवश्यक रहेको उल्लेख गर्दै पछिल्ला दिनमा संसद्मा अनुत्पादक गतिविधिहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। ‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो,’ उनले भने, ‘तर दुर्भाग्यवश, कहिलेकाहीं रचनात्मक बहसको सट्टा आरोप–प्रत्यारोप, गालीगलौज र असंसदीय व्यवहारमा अल्झिरहेका छौं।’
उनले संसद्मा जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा गम्भीर छलफल आवश्यक रहेको बताए। शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र पूर्वाधार विकासजस्ता विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले भने, ‘हामीसँग छलफलका लागि थुप्रै विषय छन्। संसद्मा यस्ता विषयमा समय खर्च गर्नुपर्छ।’
नेम्वाङले संसद्लाई जनताको विश्वासको केन्द्र बनाउन सांसदहरूले आफ्नो व्यवहार र कार्यशैली सुधार्नुपर्नेमा जोड दिए। उनले नीति, नियमलाई अझ प्रभावकारी बनाएर जनताले सकारात्मक परिवर्तन महसुस गर्ने वातावरण तयार पार्नुपर्ने बताए।
‘हामी सांसदहरू जनप्रतिनिधि हौं, जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्नु हाम्रो दायित्व हो,’ उनले थपे, ‘तर अहिले हामी त्यो बाटोबाट अलि पर जाँदैछौं जस्तो लाग्छ।’
उनको यो अभिव्यक्ति हाल संसद्मा देखिएको राजनीतिक ध्रुवीकरण र असहमतिको शैलीलाई लिएर आएको हो। संसद्मा विचारको भिन्नता स्वाभाविक भए पनि त्यसलाई मर्यादित र उत्पादक बहसमा रूपान्तरण गर्नुपर्ने उनको धारणा छ।
नेम्वाङले आगामी दिनमा संसद्ले देश र जनताको हितमा परिणाममुखी काम गर्न सक्ने विश्वास पनि व्यक्त गरे।


