देशभर बाढी–पहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध, यातायात ठप्प

Categories:

-

काठमाडौं, २५ असार — देशभरको लगातारको वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण मुलुकका १० प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रमुख प्रवेशद्वार बीपी राजमार्गदेखि लिएर सुदूरपश्चिमको जयपृथ्वी राजमार्गसम्मको आवागमन ठप्प हुँदा आम जनजीवन प्रभावित भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्ति लोकपथ, म्याग्दीको दरवाङ सडक, नवलपरासीस्थित पूर्व–पश्चिम राजमार्ग, डोल्पाको भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा मार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।

यसैगरी, काभ्रेको रोशी गाउँपालिका–९, पिन्थलीस्थित खहरे खोलाको लेदो सडकमा थुप्रिँदा बीपी राजमार्ग राति एक बजेबाट बिहान ८ बजेसम्म पूर्ण रूपमा बन्द रह्यो। अहिले पहिरो हटाएपछि आंशिकरूपमा गाडी सञ्चालनमा आएको छ।

बनेपा–नाला–भक्तपुर सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीका केही खण्ड र रोल्पाको सहिद राजमार्ग भने एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्। ती स्थानमा पहिरो केही हदसम्म हटाएपछि सवारी सञ्चालन भए पनि पूर्ण रूपमा सुचारु हुन समय लाग्ने अनुमान गरिएको छ।

यातायात ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन्। स्थानीयवासीलाई पनि आवतजावत, खाद्यान्न आपूर्ति र स्वास्थ्य सेवामा कठिनाइ भएको छ। प्रहरीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार आगामी केही दिन अझै वर्षा हुने पूर्वानुमान गरिएको छ। यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा सम्भावित थप जोखिमबाट जोगिन उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।

सरकार तथा सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार, सरसफाइ तथा ट्राफिक व्यवस्थापनमा खटिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य