काठमाडौं,२४ असार । विश्व सम्पदा सूचीकृत क्षेत्र बौद्धनाथ स्तूप परिसर पुनः विवादको घेरामा आएको छ। बौद्ध तथा मेलम्ची घ्याङ गुठी र बौद्ध क्षेत्र विकास समितिबीचको पुरानै असमझदारी फेरि सतहमा आएको हो। पछिल्लो विवाद बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको निर्देशनमा घ्याङ गुठीको अधिनमा रहेको शौचालय भत्काइएको विषयमा हो।
घटनाबारे गुठीले गत असार १ गते महानगरीय प्रहरी वृत्त, बौद्धमा उजुरी दर्ता गराएको छ। उजुरी अनुसार, जेठ ३० गते अध्यक्ष लामाको आदेशमा कुमार तामाङ नेतृत्वको समूहले कुनै जानकारी नदिई जबर्जस्ती शौचालय भत्काएको थियो। गुठीले उक्त कार्यले ल्हाखाङ गुम्बाको जगमा समेत असर पु¥याएको दाबी गरेको छ। यस विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक सुजनलाई खटाइएको छ।
बौद्ध क्षेत्र विकास समिति र मेलम्ची घ्याङ गुठी दुवै नेपाल सरकार अन्तर्गतका संस्था हुन्। यिनको कार्यक्षेत्र, अधिकार र कर्तव्य सम्बन्धी स्पष्ट कार्यविधि भए पनि विगत केही वर्षदेखि यी दुई संस्थाबीच अधिकार मिचिएको आरोप–प्रत्यारोप चलिरहेको छ।
धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बौद्ध स्तूप परिसरमा निरन्तर देखिएको द्वन्द्वप्रति बुद्धमार्गी समुदायले गहिरो चिन्ता व्यक्त गर्दै आएका छन्। धार्मिक स्थलमा व्यक्तिवादी सोच, हस्तक्षेपकारी भूमिका र अव्यवस्थित संरचना निर्माणले नकारात्मक सन्देश जाने भन्दै गुठीले आपत्ति जनाएको छ।
गुठीका पदाधिकारीहरू भन्छन् — “समितिको संरचना निर्माणभन्दा पूजाआजा र धार्मिक क्रियाकलापलाई प्राथमिकता दिनुपर्छ। तर विकास समितिले पूजास्थल नै प्रभावित हुने गरी हस्तक्षेप गरिरहेको छ।”
विकास समितिका अध्यक्ष राजकुमार लामाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै गुठीको कामकै कारण क्षेत्रको व्यवस्थापनमा समस्या भएको बताएका छन्। तर, घटनाक्रमले बौद्ध स्तूपको पवित्रता र व्यवस्थापनप्रति सरकार र सरोकारवाला निकायको चासो अपरिहार्य देखिएको छ।


