जेलमा त तिमीहरूको सभापति छन्!” — योगेश भट्टराईको सोविता गौतमलाई जवाफी प्रहार

सांसद भट्टराईको प्रतिक्रिया : प्रधानमन्त्रीमाथि लगाइएको आरोप निन्दनीय

-

काठमाडौं,२४ असार । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सहभागी सबै व्यक्ति स्वदेश फर्किएको पुष्टि भइसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको अभिवक्तिमाथि आपत्ति जनाएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले गौतमले दिएको अभिव्यक्तिलाई निन्दनीय र भर्त्सनायोग्य बताएका हुन्। “प्रधानमन्त्रीको भ्रमणमा जम्मा २८ जना सहभागी भएका थिए र उनीहरू सबै फर्किसकेका छन्,” उनले भने, “प्रधानमन्त्री कार्यालयले नामावली सार्वजनिक गरिसकेको अवस्थामा यस्तो अफवाह फैलाउनु गलत हो।”

उनले गौतमसहित रास्वपाका नेताहरू प्रधानमन्त्रीजस्तो गरिमामय पदमाथि अनावश्यक आरोप लगाएर संस्थामाथि नै लाञ्छना लगाउने कार्यमा लागेको आरोप लगाए।

“आफ्नो आङको भैंसी नदेख्ने, अरुको आङमा जुम्रा खोज्ने प्रवृत्ति कतिपय नेताहरूमा देखिन्छ,” भट्टराईले भने, “रास्वपाका सभापति नै ठगी काण्डमा जेलमा छन्, नेताहरू मेनपावरमार्फत दलाली गर्दै विदेश पठाइरहेका छन्, तर त्यसको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीमाथि आरोप लगाइँदैछ।”

प्रधानमन्त्री ओलीको भ्रमणलाई विवादास्पद बनाउने प्रयासप्रति कडा आपत्ति जनाउँदै उनले थपे, “सांसद गौतमले भ्रमणमा सहभागीमध्ये को–को नफर्किएका हुन् भन्ने प्रमाणसहित जवाफ दिनुपर्छ। अन्यथा, यस्ता अभिव्यक्ति सांसदको मर्यादासँग मेल खाँदैन।”

प्रधानमन्त्री ओली स्पेनको बार्सिलोनामा आयोजित लोकतन्त्रसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन गएको भ्रमण सकिएर हालै स्वदेश फर्किएका हुन्। उक्त भ्रमणमा सरकारका केही अधिकारी, सुरक्षा टोलीका सदस्य, र केही सल्लाहकारसहित २८ जनाको टोली सहभागी थियो।

प्रधानमन्त्रीको भ्रमणबारे संसदभित्र र बाहिर उठेका प्रश्नहरूप्रति एमालेले प्रतिवाद गर्दै आएको छ। सांसद भट्टराईको यो अभिव्यक्ति पनि त्यसैको निरन्तरताका रूपमा आएको हो।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य