रसुवा २४ असार। चीनबाट आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा ठुलो क्षेती पु¥याएको छ । सोमबार रातिदेखि लगातार बढ्दै आएको पानीका कारण निर्माण स्थलमा काम गरिरहेका ५५ जना बाढीको बिच फसेका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले ज्यानको जोखिममा गएर मङ्गलवार दिउँसो ३ः३० बजेभित्र सबै ५५ जनालाई सकुशल झोलुङ्गे पुलमार्फत उद्धार गरेको छ।
उद्धार गरिएकामध्ये ४ महिला, ५१ पुरुष छन्। एक जना चिनियाँ नागरिकको पनि उद्धार गरिएको छ ।
बाढीमा हालसम्म १८ जना बेपत्ता छन् भने १०० भन्दा बढी गाडी बाढीले बगाएको पुष्टि प्रहरीले गरिसकेको छ।
घटनास्थलमा अझै उद्धार र खोजी कार्य जारी छ। सुरक्षाकर्मी, स्थानीय हरूले खोज तथा उद्धार जारी राखेका छन् ।
जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ ।
विभागले ठुलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिएका छन् ।
‘त्यति ठुलो बाढी नै जाने गरी दुवैतर्फ ठुलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ’, उनले भने, ‘के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्ने छौँ ।

