काठमाडौं २४ असार । ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा शिक्षा मन्त्री रघु पन्त र कांग्रेस सांसद दिलेन्द्र बडु पनि शङ्काको घेरामा तानिने भएका छन् ।
राज्य व्यवस्था समितिमा उनीहरू नै मस्यौदालाई अन्तिम रूप दिएर निणयार्थ पेस गर्ने गरेको स्रोतले बतायो। कुलिङ पिरियेड सम्बन्धी व्यवस्था भएको निजामती विधेयकमा पनि उनीहरूले अन्तिम मस्यौदा सभापति खतिवडा समक्ष निणर्याथ पेस गरेका थिए। सो अनुसार नै सभापति खतिवडाले पारित भएको घोषणा गरेका थिए।
‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले यस विषयलाई समेत मध्यनजर गरेर मङ्गलवारबाट छानबिनको काम अगाडि बढाउने भएको छ। यसका लागि समितिको पहिलो बैठक मङ्गलवार बस्ने भएको छ।
बै
ठक दिउँसो १२ बजे सभामुखको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने भएको हो ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।
समितिको संयोजकमा काँग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।

