काठमाडौं २३ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भएको भेटले राजनीतिक वृत्तमा नयाँ चर्चा ल्याएको छ। लामो समयदेखि महानगरपािलकामा समस्या झेल्दै आएका मेयर शाहले पूर्व राष्ट्रपति भण्डारीलाई भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ। प्रधानमन्त्री ओली र संघीय सरकार प्रति असन्तुष्ट शाहले पूर्व राष्ट्रपतिलाई भेट गर्नुको रहस्य समेत खोज्न थालिएको छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तिक्त सम्बन्ध रहेका बालेन र केही समयअघि मात्र सक्रिय राजनीतिमा पुनरागमनको संकेत दिएकी भण्डारीबीचको यो भेटले एमालेभित्र समेत तरंग पैदा गरेको छ।
बालेनको सचिवालयका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले नै बालेनलाई भेट्न बोलाएकी थिइन्। सो भेटमा महानगरका समस्या, संघीय सरकारबाट भइरहेको असहयोग र बजेट अवरोधजस्ता विषयमा छलफल भएको थियो। मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार, “संघीय सरकारबाट निरन्तर असहयोग भइरहेको, प्रमुख प्रशासकीय अधिकृत नपठाइएको लगायत विषयमा भण्डारीलाई जानकारी दिइएको हो।”
भेटमा पूर्वराष्ट्रपति भण्डारीले बालेनलाई सक्रिय राजनीतिमा प्रवेश गर्न आग्रह गरेकी थिइन्, तर बालेनले तत्काल राजनीति प्रवेश गर्ने योजना नरहेको बताएका छन्।
बालेन र ओलीबीचको सम्बन्ध विगतदेखि नै सौहार्दपूर्ण थिएन। बालेनले काठमाडौं महानगरमा काम गर्न संघीय सरकारबाट निरन्तर अवरोध भइरहेको भन्दै सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन्। यता प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको संघीय सरकारले समेत महानगरलाई अपेक्षित साथ नदिएको बालेन पक्षको गुनासो छ। तर प्रधानमन्त्री ओली निकट नेताहरुले भने बालेन उनी प्रति पूर्वाग्राही भएको आरोप लगाउदै आएका छन् ।
पार्टीका केही नेताहरूले भण्डारीको भेटलाई ‘ओली उनी एमालेमा सक्रिय जिम्मेवारी लिने तयारीमा रहेको रुपमा लिएका छन्। आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न वैकल्पिक राजनीतिक शक्तिहरूको निर्माण र ध्रुवीकरण भइरहेका बेला यो भेटले नयाँ समीकरणको संकेत दिएको छ।

