प्रधानमन्त्री ओलीद्वारा हुम्लाको च्वाखोला बेलिब्रिज उद्घाटन, सिमकोट राष्ट्रिय सडक सञ्जालमा

Categories:

-

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा पर्ने च्वाखोला नदीमा निर्माण सम्पन्न गरिएको बेलिब्रिजको उद्घाटन गरेका छन्। उक्त बेलिब्रिजको उद्घाटनसँगै हुम्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

कर्णाली कोरिडोरअन्तर्गत पर्ने यो पुल नेपाली सेनाले निर्माण गरेको हो। सडक सञ्जालबाट टाढिएको एकमात्र हिमाली जिल्ला हुम्लाको सिमकोटलाई सडकसँग जोड्ने दीर्घकालीन योजना अन्तर्गत खार्पुनाथको दोजाम कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिएको हो।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि उद्घाटन कार्यक्रममा सहभागी थिए। नेपाली सेनाको चौध बाइनी निर्माण टोली चैत १० गतेदेखि काम थालेर असार १० गते पुल निर्माण कार्य सम्पन्न गरेको थियो।

छोटो समयमा पुल निर्माण सम्पन्न भएपछि हुम्लावासीमा उत्साह र खुसी छाएको छ। अब हुम्लाको मुख्य प्रशासनिक केन्द्र सिमकोटबाट देशको अन्य भूभागमा सडकमार्गबाट आवागमन गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य