काठमाडौं, असार २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सरकारविरुद्ध साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन्। व्यवसायीहरूले आर्थिक वर्ष २०८२/८३ देखि लागू भएको नयाँ कर प्रणाली खारेज गर्न माग गर्दै उपत्यकामा विभिन्न चरणमा आन्दोलन गर्ने घोषणा गरेका हुन्।
संयुक्त विज्ञप्तिमार्फत् आन्दोलनको तालिका सार्वजनिक गर्दै व्यवसायीहरूले असार २७ गतेसम्म काठमाडौं उपत्यकामा चरणबद्ध आन्दोलन गर्ने जनाएका छन्। उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पसल बन्द, प्लेकार्ड प्रदर्शन, गोष्ठि तथा खबरदारी सभा जस्ता कार्यक्रम तय गरेका छन्।
आज विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने
कार्यक्रमअनुसार आज (असार २२ गते) व्यवसायीहरू वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्ना मागसहितको मस्यौदा बुझाउने छन्। त्यसपछि काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा प्लेकार्डसहित एक घण्टे विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
भोलिदेखि सघन तयारी
भोलि असार २३ गते विज्ञहरू सहितको टिमसँग आन्दोलनको रणनीतिबारे छलफल गरिनेछ। असार २४ गते उपत्यकाका विभिन्न जिल्लामा पहिल्यै घोषणा भए पनि अझै सम्पन्न हुन नसकेका आन्दोलनात्मक कार्यक्रमहरू सम्पन्न गरिने महासंघले जनाएको छ।
असार २५ गते गोष्ठिको आयोजना गरिनेछ भने असार २६ गते काठमाडौंमा खबरदारी सभा गरिने कार्यक्रम छ। त्यस्तै, साताको अन्तिम दिन शुक्रबार (असार २७ गते) राजधानीमै राष्ट्रियस्तरको खबरदारी सभा आयोजना गर्ने निर्णय गरिएको छ।
कसरी सुरु भयो विवाद?
सरकारले चालु आर्थिक वर्षदेखि सुनचाँदी आयातमा नयाँ कर प्रणाली लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। उनीहरूको भनाइमा, सरकारको कर नीति अनुचित, व्यापारीविरोधी तथा व्यवसाय धरासायी बनाउने खालको छ। व्यवसायीहरूले उक्त करले आम जनताको पहुँचबाहिर सुनचाँदी पुर्याउने खतरा रहेको दाबी गरेका छन्।
व्यवसायीहरूको माग के हो?
आर्थिक वर्ष २०८२/८३ बाट लागू भएको कर खारेज गर्नुपर्ने
व्यवसाय अनुकूल नीति बनाउन सरकार गम्भीर बन्नुपर्ने
अनुगमनको नाममा हुने दमनकारी गतिविधि बन्द गर्नुपर्ने
सुनचाँदी व्यवसायको ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई सम्मान गर्नुपर्ने
सरकारको प्रतिक्रिया आउन बाँकी
व्यवसायीहरू आन्दोलित भइरहँदा सरकारको तर्फबाट आधिकारिक प्रतिक्रिया आइसकेको छैन। यद्यपि, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज बुझाइने मस्यौदापछि सम्बन्धित निकायले छलफल गर्ने सम्भावना रहेको जनाइएको छ।


