भोजपुर,२२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, घोदेलीखानीमा एक युवकले आफ्नै श्रीमती, सासु, ससुरा र सालोको सामूहिक हत्या गरेका छन्। शनिबार राति भएको घटनामा २७ वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, र ९ वर्षीय सालो सपन गिरीको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
घटनापछि उनले आफैं प्रहरीलाई फोन गरी चार जनाको हत्या गरेको स्वीकार गरेका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट इन्स्पेक्टर अनिलकुमार साहको टोली करिब ४० किलोमिटर टाढा रहेको घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलबाट राईलाई नियन्त्रणमा लिएको छ।
हत्या गरी सकेपछि राई आफैं पनि केही घाइते अवस्थामा थिए। उनलाई तत्कालै भोजपुर अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा उनले प्रहरीसमक्ष दिएको बयान अनुसार, सासुले छुरा प्रहार गरी आफूलाई घाइते बनाएको र त्यसपछि आवेशमा आएर घरमा रहेका सबैलाई खुकुरी प्रहार गरी हत्या गरेको बताएका छन्।
प्रारम्भिक अनुसन्धान अनुसार, मनिषा गिरीसँगको भागी विवाह पछि दुवै परिवारबीच चर्किएको विवाद पछिल्लो समय झन् तनावपूर्ण बनेको थियो। आपसी सम्बन्धमा बिग्रिएको अवस्था अन्ततः घातक हिंसामा परिणत भएको बुझिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयबासी र आफन्तजनों यस क्रूर घटनाले आहत र स्तब्ध छन्।


