काठमाडौं,२२ असार । विश्वका सबैभन्दा धनी व्यक्तिमा गनिने अमेरिकी अर्बपति एलोन मस्कले नयाँ राजनीतिक दल गठन गरेको घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो पार्टीको नाम ‘अमेरिका पार्टी’ रहेको जानकारी दिएका हुन्। अमेरिकी व्यवसायिक सञ्जाल सीएनबीसीले यसबारे पुष्टि गरेको छ।
पार्टी घोषणाको एक दिनअघि मस्कले एक्स (पूर्व ट्विटर) मा सर्वेक्षण गर्दै अमेरिकी जनताले नयाँ राजनीतिक विकल्प चाहन्छन् कि भन्ने प्रश्न सार्वजनिक गरेका थिए। उनले पोस्टमा भनेका छन्, “२ देखि १ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ !”
मस्कले आफ्नो पार्टीले अमेरिकी जनतालाई स्वतन्त्रता फिर्ता दिने दाबी गरेका छन्। प्रारम्भिक रणनीति अनुसार, पार्टीले दुई वा तीन सिनेट सिट र आठदेखि १० वटा प्रतिनिधिसभाका सिटमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ।
उनका अनुसार अमेरिकी संसदमा हुने कानुन निर्माण प्रक्रियामा थोरै मतले फरक पार्न सक्ने अवस्थामा अमेरिका पार्टी निर्णायक शक्ति बन्नसक्नेछ। “हामी विवादास्पद कानुन रोक्न सक्ने स्थिति बनाउँछौं, जसले जनताको साँचो चाहना प्रतिबिम्बित गर्छ,” मस्कले उल्लेख गरेका छन्।
तर मस्कले उक्त पार्टी कहिलेसम्म दर्ता हुन्छ भन्ने जानकारी दिएका छैनन्। संघीय निर्वाचन आयोग (FEC) मा हालसम्म ‘अमेरिका पार्टी’ नामक कुनै नयाँ दल दर्ता भएको देखिएको छैन।
सन् २०२४ को राष्ट्रपति निर्वाचन अवधिमा मस्क सबैभन्दा ठूलो राजनीतिक दातामध्ये थिए। उनले २८० मिलियन डलरभन्दा बढी चन्दा दिएका थिए, जुन प्रमुख रूपमा डोनाल्ड ट्रम्प र अन्य रिपब्लिकन उम्मेदवारहरूलाई लक्षित थियो।
एलोन मस्कको यो नयाँ कदमले अमेरिकी राजनीतिक वृत्तमा नयाँ बहस र सम्भावनाको ढोका खोल्ने देखिएको छ।

