हरिशयनी एकादशी आज: चतुर्मास व्रत सुरु, तुलसीको पूजा आराधना आरम्भ

Categories:

-

काठमाडौँ,२२ असार  । आषाढ शुक्ल एकादशीका अवसरमा आजदेखि सनातन धर्मावलम्बीहरूले तुलसीको मोठमा विशेष पूजा आराधना सुरु गरेका छन्। प्रत्येक वर्ष आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ, जसबाट चतुर्मास व्रत प्रारम्भ हुने धार्मिक परम्परा रहेको छ।

धर्मशास्त्रअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्न जाने भएकाले यस दिनको विशेष महत्व छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आजदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिनालाई “चतुर्मास” भनिन्छ, जसमा विशेष व्रत, पूजा र संयमित जीवनशैलीको अभ्यास गरिन्छ।

एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको बिरुवा दलेर तयार पारिएको बिरुवा आज मोठमा सारिन्छ र यही तुलसीको चार महिनासम्म विधिपूर्वक पूजा गरिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। कार्तिक शुक्ल एकादशीको दिन अर्थात् हरिबोधिनी एकादशीमा तुलसी र भगवान् दामोदरको विवाह गरिने परम्परा छ।

धार्मिक परम्परासँगै वैज्ञानिक दृष्टिकोणले पनि तुलसीको विशेष महत्व छ। तुलसी भएको स्थानमा शुद्ध हावा बहने र रोग सार्ने कीटाणुहरू टाढा रहने वैज्ञानिक प्रमाणहरू छन्। तुलसीको सेवन विभिन्न रोगका लागि औषधीय रूपमा पनि उपयोगी मानिन्छ।

आजको दिन राजधानीको बूढानीलकण्ठ, चार नारायण मन्दिर, र देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। एकादशीका दिन विशेषगरी चामल परित्याग गरी फलाहार गर्ने चलन छ। सक्नेहरूले वर्षभरका २४ एकादशीमा व्रत बस्ने र नसक्नेले चतुर्मासका आठ एकादशीमा व्रत बस्ने परम्परा रहेको छ।

आजबाट सुरु भएको चतुर्मास व्रतले आत्मसंयम, स्वास्थ्य र अध्यात्मिक उन्नतिमा योगदान पुर्‍याउने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य