बुढानीलकण्ठ उठ
-बिसुकुमार के.सी.
बुढानीलकण्ठ तिमी
सुतेका मात्र हौ कि
निदाएका छौ
नत्र उठेर हेर
यहाँ अनौठो नाटक मंचन भै रहेछ।
हिजो `धोवी खोला´ले मलाई नुहाइ दिन्थ्यो
मेरो लुगा धोइ दिन्थ्यो
खेत भिजाएर अन्न फलाइ दिन्थ्यो
आज ऊ आफै फोहरी भएको छ
दुर्गन्धित भएको छ
प्यासी भएर छटपटाइ रहेछ
विचरा प्यास मेटाउन ढल पिउदैँ छ ।
तिमिलाई जल चढाउन
म बोतलको पानी लिएर आएको छु
बुढानीलकण्ठ तिमी
सुतेका मात्र हौ कि
निदाएका छौ
नत्र उठेर हेर
यहाँ अनौठो परिवर्तन भै रहेछ ।
हिजो शिवपुरीले सुसेल्दा
काठमाडौँ शहर नाच्दथ्यो
आज शिवपुरीले सुस्केरा हाल्दा
बुढानीलकण्ठले पनि सुन्दैन
हिजो सिङ्गै सभ्यताको उपचारमा औषधि बनेर बग्दथ्यो विष्णुमती आज उ विरामी पर्दा कसैले वास्ता गर्दैन
यति नजिकैको बुढानीलकण्ठ किन एक चोटि पनि `गेट वेल सुन’ सम्म भन्दैन ।
तिम्रै काखमा छ `कपन´
कराई रहन्छ बाढी आयो भनेर
तिम्रै काँधमा `तौलुङ´ छ
डराइ रहन्छ बाघ आयो भनेर
`चपली´ चुँडिएको चप्पल घिसार्दै लम्की रहेछ
`हात्तीगौँडा´ उहिले देखि गौँडो ढुकेर बस्न विवश छ
`पासिकोटको´ ओठ कलेटी परेको छ
`चुनिखेलको´ मन चुढिएको छ
`मण्डिखाको´ मन मुर्झाएको छ
`खडका भद्रकाली´ खाली खाली छ।
बुढानीलकण्ठ तिमी
सुतेका मात्र हौ कि
निदाएका छौ
नत्र उठेर हेर
यहाँ बिडम्वनापूर्ण नौटङ्की मंचन भै रहेछ ।
छ न त नि अचेल उसकै आगन मै सरकार
तर मतपत्रमा मात्र हुने चुनाव चिन्ह
उ हरेक सेवाग्राहीको निवेदनमा पनि खोज्छ
सिफारिस दिन सिफारिसै खोज्छ
योजना दिन आगामी चुनावको पनि सर्जमिन गराउँछ
सेवा सुविधा र विकासका भरहरु बढाउँदैन
सरकार भएको हैसियत देखाउन करहरु भने बढाउँछ ।
यी सबै नसुने झै गरेर
यी सबै नदेखे झै गरेर
बुढनीलकण्ठ तिमी
सुतेका मात्र हौ कि
निदाएका छौ
नत्र उठेर हेर
यहाँ बिडम्वनापूर्ण नौटङ्की मंचन भै रहेछ ।


