बीपी राजमार्ग रातभर बन्द हुने! यात्रु सावधान, आइतबारदेखि एक महिना दैनिक १० घण्टा आवागमनमा रोक

Categories:

-

काभ्रेपलाञ्चोक,२० असार  । पूर्वी नेपाल जोड्ने महत्त्वपूर्ण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आइतबारदेखि रातको समयमा यातायात सञ्चालनमा कडाई गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म प्रत्येक दिन साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

मनसुन सक्रिय भइरहेकाले सम्भावित बाढी तथा पहिरोको जोखिम न्यूनीकरण गर्न यो निर्णय लिइएको हो। यसअघि असार ७ गतेदेखि नै काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुको समन्वयमा १५ दिनका लागि रातिको सवारी रोक लगाइएको थियो। अब आइतबारदेखि एक महिनासम्म यो रोक निरन्तर रहनेछ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार वर्षा बढेसँगै बाढीपहिरोको जोखिम अत्यधिक भएकाले यात्रुको सुरक्षा सुनिश्चित गर्न रातको समय सवारी आवागमनमा पूर्ण प्रतिबन्ध गरिएको हो। काठमाडौंबाट पूर्वतर्फ जाने सवारी काभ्रेभञ्ज्याङमा रोकिनेछ भने काठमाडौंतर्फ आउने सवारी सिन्धुलीको नेपालथोकमा रोकिनेछ।

गत वर्ष असोजमा आएको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको आठ किलोमिटर सडक पूरै बगाएको थियो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार कुल १६० किमी लामो राजमार्गको करिब ८४ किमी भागमा पहिरोबाट गम्भीर क्षति पुगेको छ। अहिले चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ।

बीपी राजमार्गबाट दैनिक हजारौं सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन हुँदै आएकाले यो निर्णयले यात्रु र व्यवसायी दुवै प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य