काठमाडौं, २० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा परिवर्तन ल्याउन स्व. गिरिजाप्रसाद कोइरालाले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै उहाँको सपना अझै अधुरो रहेको बताएका छन्। शीतल निवासमा आयोजित स्व. कोइरालाको १०२ औं जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रचण्डले विस्तृत शान्ति सम्झौतामा जनतासँग गरिएको वाचा पूरा गर्न आजका राजनीतिक नेतृत्व जवाफदेही बन्नुपर्नेमा जोड दिए।
“हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतैतिर अगाडि बढेका छौं त?” भन्दै प्रचण्डले अहिलेको संसदीय अभ्यास, न्याय क्षेत्रको अवस्था र सरकारी गतिविधिहरूप्रति असन्तुष्टि प्रकट गरे। उनका अनुसार, लोकतन्त्र र परिवर्तनको अभ्यास अपेक्षित ढंगले अगाडि बढ्न सकेको छैन।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले कोइरालाको योगदान स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उहाँको अग्रणी भूमिका रहेको उल्लेख गरे।
प्रचण्डले थपे, “सरकार कसरी चलेको छ, संसद र न्यायालयको अवस्था के छ, गम्भीर समीक्षा आवश्यक छ। जनतामा अहिलेको सरकारप्रति आक्रोश र असन्तुष्टिबाहेक केही छैन।” उनले आफू जनताको भावना बुझ्न देश दौडाहामा रहेको र अबको बाटो जनताको हितमा निष्ठापूर्वक अघि नबढे मुलुक गम्भीर मोडमा पुग्ने चेतावनी पनि दिए।

