रुपन्देही ३ को उपनिर्वाचनः सबै पार्टीको प्रतिष्ठाको बिषय बन्दै कात्तिक १७

Categories:

-

काठमाडौं, २० असार । नेपाली राजनीतिमा धेरै उत्तार चढावपछि कात्तिक १७ गते हुन लागेका उपचुनाव मध्ये रुपन्देही निर्वाचन क्षेत्र नं ३ यसपटक मुख्य पार्टी नेपाली कांग्रेस, एमाले, राप्रपा रास्वपा र मधेश केन्द्रित दल सबैका लागि प्रतिष्ठाको बिषय बनेको छ। अहिले सम्म ती दलहरुले उममेदवारको टुंगो लगाएका छैनन् । यद्यपी अनेक चर्चा र अनुमान बजारमा आएका छन् ।
दिवंगत सांसद राप्रपाका नेता दीपक बोहराले एमालेको सहयोगमा निर्वाचन जितेका थिए।
दीपक बोहोराको निधनपछि रिक्त क्षेत्र फिर्ता ल्याउने रणनीतिसहित राप्रपाले बोहोराका दुई छोरा गौरव र प्रज्ज्वल तथा नातिनी एवं पार्टी केन्द्रीय सदस्य स्वाती थापामध्ये एकलाई अगाडि सार्ने तयारीमा छ । कान्छा छोरा प्रज्ज्वलले हाल क्षेत्रमै खटिएर सक्रियता बढाएका छन् ।

पार्टी पंक्ति जेठा छोरा गौरवलाई स्वतन्त्र उम्मेदवार बनाएर साना दलको समर्थन जुटाउने प्रयासमा रहेको पनि बुझिएको छ । नातिनी स्वाती दीपक बोहोराको निर्वाचनको समयमा मुख्य कमान्डर भएर जिम्मेवारी सम्हालेको र सबै अनुभव भएकाले पनि उनलाई अगाडि सानुपर्ने दबाबमा राप्रपा छ ।
नेकपा माओवादी केन्द्रबाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम चर्चामा छ । नेकपा एकीकृत समाजवादीमा भने पार्टी महासचिव घनश्याम भुसाललाई उम्मेदवार बनाइने चर्चा छ । भुसाल उम्मेदवार बने माओवादी केन्द्रले समर्थन गर्नसक्ने अनुमान गरिएको छ ।

भुसालले २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेका थिए, तर २०७९ मा क्षेत्र नं. १ मा एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने यस अघि कांग्रेस सभापति शेरबहादुर देउवासंग निर्वाचन लडेर सम्मानजनक भोट ल्याएका सागर ढकाललाई उम्मेद्वार बनाउने तयारी गरेको बताइएको छ। एमालेले भने यस क्षेत्रमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

रुपन्देहीमा दलहरुको अवस्था
०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ३ को भूगोल नयाँ भएको हो । जस अनुसार रुपन्देही–३ मा शुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाको वडा नं १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नं १४ देखि १९ वडा समेटिएको छ ।
२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि कांग्रेसकै बालकृष्ण खाँण निर्वाचित भए ।

२०७० सालमा दीपक बोहोरा राप्रपाबाट विजयी भए भने घनश्याम भुसाल उपविजेता बने । २०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।

२०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथ पाउँदै विजयी हुँदा कांग्रेसका बालकृष्ण खाँण दोस्रो भएका थिए ।

समानुपातिक मत कसको कति ?
२०७९ सालको निर्वाचनमा रुपन्देही ३ मा नेपाली कांग्रेसले समानुपातिकतर्फ २० हजार २७८ मत पाएको छ । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत छ । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य