कांग्रेस कार्यालयमै विद्रोह! तरुण नेताहरू आमरण अनशनमा, नेतृत्व मौन

Categories:

-

काठमाडौं, १९ असार  । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूहले सुरु गरेको आमरण अनशन आज चौथो दिन पनि जारी छ । विद्वान गुरुङको अध्यक्षतामा गठन गरिएको तदर्थ समिति खारेज गर्नुपर्ने माग राख्दै असन्तुष्ट युवा नेताहरू रोजन राई र अम्बिका बाँस्कोटाले आइतबारदेखि सानेपास्थित पार्टी कार्यालयको मूलगेटमा आमरण अनशन थालेका हुन् ।

आन्दोलनरत नेताहरूको भनाइमा, तदर्थ समिति असंवैधानिक, अलोकतान्त्रिक र कार्यकर्ताको भावनाविपरीत गठन गरिएको हो । उनीहरूले लोकतान्त्रिक पार्टीभित्र यसरी थोपरेर नेतृत्व तोक्नु गलत भएको भन्दै नेतृत्व चयनमा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

अनशनमा रहेका रोजन राईका अनुसार चार दिनदेखि अनशन जारी भए पनि पार्टी नेतृत्वले कुनै गम्भीर चासो दिएको छैन । उनले आफूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै चिकित्सकको सल्लाहअनुसार मृगौलामा समस्या देखिएको जानकारी पनि दिए । “हाम्रो स्वास्थ्य संकटमा पुगिसक्दा पनि नेताहरू टुलुटुलु हेरेर बसिरहेका छन्,” उनले भने, “त्यही भएर अहिले मुलुकमा नयाँ विकल्प खोज्ने लहर चलिरहेको छ ।”

पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापासँग आन्दोलनरत समूहका केही सदस्यले संवाद थालेका छन् । यद्यपि, अनशनकारीहरूले माग पुरा नभएसम्म अनशन नरोकिने अडान दोहोर्‍याएका छन् ।

पार्टीभित्रको युवा संगठनमै असन्तोषको स्वर चर्किंदै गएको अवस्थामा नेतृत्वले मौनता साध्नुले समस्या अझ जटिल बन्दै गएको संकेत देखिन्छ । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप यतिबेला स्वयं कार्यकर्ताबाटै आउन थालेको छ । तर, अहिलेसम्म पार्टीका शीर्ष नेताहरूले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

यसबीच, पार्टी कार्यालयको मूलगेटमा जारी अनशनलाई समर्थन जनाउँदै केही युवा कार्यकर्ताहरूसमेत सानेपा पुग्न थालेका छन् । यदि पार्टी नेतृत्वले चाँडै संवादको पहल नगरे स्थिति थप जटिल हुने संकेत देखा पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य