काठमाडौं, असार १७ । “देश छोड्ने कि देश बदल्ने?” भन्ने गम्भीर र समसामयिक प्रश्नलाई केन्द्रमा राखी काठमाडौंमा जिल्लाब्यापी वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याब्सन, बुढानिलकण्ठ नगर समितिको आयोजनामा तथा नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको संयोजन र आदिम नेसनल कलेजको सहयोगमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।
कार्यक्रमका सभापति राजेन्द्र पुडासैनी (राजु) थिए भने प्रमुख अतिथिका रूपमा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुबास न्यौपाने सहभागी थिए। साथै, बिष्णु पराजुली (केन्द्रीय उपाध्यक्ष), मनोज श्रेष्ठ (केन्द्रीय सचिव), भिस्माराज ढकाल (केन्द्रीय सदस्य), डि. एन. महतो (अध्यक्ष, बागमती प्रदेश समिति), अमृत खड्का (अध्यक्ष, काठमाडौं जिल्ला समिति) लगायतका विशिष्ट अतिथि तथा साक्षीहरूको उपस्थितिले कार्यक्रमलाई गरिमामय बनायो।
कार्यक्रम संयोजकको भूमिकामा कमलमणि न्यौपाने तथा संचालनमा मोहन फुयालले सशक्त भूमिका निर्वाह गरेका थिए।
प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयबाट सहभागिता जनाएका १०१ जना विद्यार्थीबीच भएको विचारको भिडन्तले दर्शकदीर्घालाई मन्त्रमुग्ध बनायो। निर्णायकहरूको निर्णयअनुसार मेघा पब्लिक स्कूलकी कृशाला प्याकुरेल प्रथम घोषित भइन्। पाणिनी स्कूलकी आशिस्मा भट्टराई दोस्रो स्थानमा रहिन् भने मिलन धर्मस्थलीकी कृस्टिना सिम्खडा तृतीय स्थानमा। साथै बोधी सदनकी जेशिका राउत र बेस्ट ग्रुप भिजन स्कूलकी कृपा घले सान्त्वना पुरस्कार विजेता घोषित भए।
विजेताहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। आयोजकहरूले विद्यार्थीहरूको प्रतिभा, वाक्कपटुता र राष्ट्रप्रतिको चिन्तन देखेर भविष्य उज्यालो देखिएको प्रतिक्रिया जनाए।


