काठमाडौं, असार १७ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वका लागि केवल पार्टीको टोपी लगाउनु पर्याप्त नहुने बताएका छन्। नेतृत्व प्रभावकारी बनाउन सक्रियता, विचारमा निष्ठा र व्यवहारिक अनुशासन अपरिहार्य हुने उनले स्पष्ट पारे।
नेपाल बौद्धिक परिषद्, बुढानीलकण्ठ नगर कमिटीद्वारा मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित विमर्श कार्यक्रममा पोखरेलले भनाइ राख्दै मदन भण्डारीले नेपाली समाजको यथार्थलाई आत्मसात गर्दै मार्क्सवादको सन्देशलाई व्यवहारिक बनाएको स्मरण गरे।
“सिर्फ सिद्धान्तले जीवन परिवर्तन हुँदैन, जीवन बदल्न त्यसलाई यथार्थतामा आधारित बनाएर लागू गर्नुपर्छ भन्ने सोच उहाँको थियो,” पोखरेलले भने। उनले मदन भण्डारीको ‘खुट्टाअनुसारको जुत्ता’ भन्ने दृष्टान्त उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नेपाली समाजको आवश्यकता अनुसारको वैचारिक ढाँचा भएको बताए।
पोखरेलले कम्युनिष्टहरू र तिनका कार्यकर्तामाथि हिंसा भएमा प्रतिकार गर्न सकिने भए पनि, मार्क्सवाद स्वयं हिंसालाई समाधानको रूपमा नलिने विचारमा आधारित रहेको धारणा व्यक्त गरे। “मार्क्सवादले समाज मात्र होइन, विचार र प्रणाली परिवर्तन गर्ने दर्शन दिन्छ,” उनले थपे।
कार्यक्रममा स्वतन्त्र वामपन्थी चिन्तक मल्ल के. सुन्दरले वर्तमान समयमा वामपन्थी शक्तिको प्रभाव र जनसम्पर्क सन्तोषजनक नरहेको बताए। एमाले, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जनताको मतका आधारमा अघि बढ्ने नीति अपनाइनुपर्नेमा जोड दिँदै जबज त्यही सन्दर्भमा आएको नवीन अवधारणा भएको उल्लेख गरे।
विमर्श कार्यक्रम बुढानीलकण्ठ नगरपालिका–५, दुलालगाउँस्थित बुढानीलकण्ठ क्याम्पिङमा परिषद्का नगर कमिटी अध्यक्ष शारदा नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय बौद्धिक वर्ग, राजनीतिक कार्यकर्ता, पत्रकार र युवा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



