कांग्रेस केन्द्रीय समितिको बैठकः प्रधानमन्त्री ओलीको नेतृत्वप्रति शेखरको चर्को असन्तुष्टि 

-

काठमाडौं १७ असार । कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको नेतृत्व दिएकोमा चर्को असन्तुष्टि प्रकट गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि पोखेका हुन् ।  उनले संसदमा सबैभन्दा ठुलो पार्टी भएर पनि काँग्रेसले दोस्रो पार्टी एमालेलाई सरकारको नेतृत्व गर्न दिएको प्रति असन्तुष्टि जनाएका हुन् ।

कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर मैले काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले काँग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? बैठकमा सभापति देउवालाई  प्रश्न गर्दै उनले भने, ‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चित बुझ्दो जवाफ दिनुपर्छ ।’

वर्तमान सरकार, गठबन्धन, पार्टीभित्रका समस्या, अनुशासन समितिको व्यवहार लगायतका विषयमा उनले पार्टी नेतृत्वको जवाफ बैठकमा खोजे । यही वर्षको मंसिरमा १५ औँ महाधिवेशन हुन नसक्ने भए त्यसको जवाफ सभापति शेरबहादुर देउवा र पदाधिकारीले दिनुपर्ने उनको भनाइ थियो ।

नेता कोइरालाले महाधिवेशन गर्नुपर्नेमा आफू अहिले पनि दृढ रहेको सुनाउँदै भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापति र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुप¥यो ।पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ ।’

अनुशासनको कारबाहीप्रति असन्तुष्टि राख्दै कोइरालाले पार्टी बैठकमा भने, ‘यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ । कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद ?’

कोइरालाले गत निर्वाचनमा गठबन्धन गर्ने क्रममा पार्टीका नेता कार्यकर्ता गरिएको व्यवहारप्रति पनि नेतृत्वलाई स्मरण गराए । पर्सा– १ मा गठबन्धनबाट टिकट पाएका लोसपा उम्मेदवारले चौथो स्थानको मत ल्याएको सुनाउँदै कोइरालाले भने, ‘काँग्रेसका साथी स्वतन्त्र निर्वाचन लड्नुभयो । उहाँको २० हजार ९ सय १७ मत आयो र उहाँ निकट प्रतिद्वन्द्वी हुनुभयो । गठबन्धनका नाममा आफ्नो बलियो सिट किन अरूलाई दिइयो ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य