१९ वर्षमै ठगी र क्रिप्टोको मास्टरमाइन्ड! कागेश्वरी–गोकर्णेश्वरका युवाले उडाए करोड

Categories:

-

काठमाडौं,१४ असार । केवल १९ वर्ष उमेरका दुई युवाले फेसबुक र टेलिग्राम प्रयोग गरी एक करोडभन्दा बढीको क्रिप्टो करेन्सी कारोबार गरेको खुलासा भएपछि प्रहरी पनि चकित बनेको छ। सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका युवाहरूमा कागेश्वरी मनोहरा-६ बस्ने धादिङको थाक्रेका समीर तामाङ र गोकर्णेश्वर-१ सुन्दरीजलका क्रिस पोखरेल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार उनीहरूविरुद्ध २३ लाख १५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। तर, अनुसन्धानको क्रममा उनीहरू १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको क्रिप्टो कारोबारमा संलग्न रहेको तथ्य फेला परेको हो।

समीर तामाङको नामबाट फेसबुक र टेलिग्राममा बनाइएको अकाउन्टमार्फत ‘विदेशमा फर्निचर उद्योगमा लगानी गरे राम्रो फाइदा हुन्छ’, ‘अनलाइन जागिर लगाइदिन्छु’ भन्ने जस्ता आश्वासन दिइ रकम असुल गरिएको पाइएको छ। ठगीका लागि उनीहरूले प्रभावशाली प्रोफाइल र बनावटी प्रस्ताव प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

अहिले उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूका डिजिटल उपकरण, मोबाइल, बैंक विवरण तथा क्रिप्टो वालेटसम्बन्धी विवरण संकलन गरिरहेको छ।

प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालमा आउने आशययुक्त प्रस्तावमा नझुक्न र शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य