काठमाडौँ १४ असार । जननेता मदन भण्डारीको ७४ औ जन्म जयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाइएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति नहुने भएको छ। संभवत मदन जयन्तीमा ओलीको अनुपस्थिति यो पहिलो हुने छ।
लामो समय देखि भण्डारी र ओलीबिच बढ्दै गएको दूरीका कारण पनि यस्तो हुन लागेको स्रोतले बतायो। यद्यपी ओलीले कार्यक्रममा सहभागी नहुने भनेर कुनै घोषणा गरेका छैनन् । तर ओलीको सचिवालय स्रोतले रातो सूर्यलाई दिएको जानकारी अनुसार यो समाचार तयार पार्दा सम्म प्रधानमन्त्री ओलीको सहभागिता निश्चित भएको छैन। तर ओलीले आफू युरोपेली राष्ट्र स्पेनको औपचारिक भ्रमणको कार्यक्रम भएकोले आफू सहभागी हन नसक्ने आफ्नो सचिवालयलाई जानकारी गराएका छन् । यद्यपी दिउसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना भएको सो कार्यक्रममा संवोधन गरेर हिँड्ने जानकारी दिएका छन् ।
यसैबिच पार्टी भित्र खुम्चिएको लोकतन्त्रलाई संवोधन गर्ने गरी पूर्व राष्ट्रपति भण्डारीले महत्त्वपूर्ण घोषणा गर्ने एमाले कार्यकर्ताले अपेक्षा गरेका छन् । एमाले भित्र भण्डारी आउ पाटी बचाउ भन्ने आन्तरिक अभियान समेत चलेको बेला असार १४ को घोषणा महत्त्वपूर्ण मानिएको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओली भने युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार त्यसतर्फ जाने भएका छन् ।
उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् ।
प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने छन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।
स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख छ ।
सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२.३ रहेको तथ्याङ्क छ ।
स्पेनमा साना–ठुला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।

