वादको मञ्च, विचारको युद्ध! बुढानीलकण्ठमा ठोक्किँदै छन् १ सय १ विद्यालयका बहसकर्ता !

-

 काठमाडौं, १२ असार। “विचारको भिडन्त, ज्ञानको उज्यालो!” भन्ने नाराका साथ आगामी असार १५ गते काठमाडौं जिल्लास्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ।

सो प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार एक पत्रकार सम्मेलन सम्पन्न गरिएको छ। नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको संयोजन र बुढानीलकण्ठ नगर समितिको आयोजनामा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन बुढानीलकण्ठ नगरपालिकाका समितिका अध्यक्ष राजेन्द्र पुडासैनी को सभाध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पराजुली, बुढानिलण्ठमा नगरपालिका सामाजिक विकास संयोजक शान्ता पुडासैनी, केन्द्रीय कोषाध्यक्ष खड्क वस्नेत, केन्द्रीय सदस्य भीष्मराज ढकाल, प्रदेश अध्यक्ष डिएन महतो, जिल्ला अध्यक्ष अमृत खड्का, उपाध्यक्षहरू प्रेमकुमार भुजेल, समीर बास्तोला, नारायणबाबु तिम्सिना लगायत दर्जनौं पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिता “रोजगारीको लागि विदेशिने हो कि उद्यमशीलताले देशलाई बदल्ने हो?” भन्ने समसामयिक र संवेदनशील विषयमा केन्द्रित हुनेछ। काठमाडौं जिल्लाका विभिन्न १ सय १ विद्यालयबाट विद्यार्थीहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै वक्ताहरूले वर्तमान परिवेशमा युवा विदेशिनुको बढ्दो लहरप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै सिर्जनशील उद्यमको संभावना रहेको विषयमा बहस आवश्यक भएको बताए। “युवालाई देशमै अवसर देख्न सिकाउने प्रयास हो यो प्रतियोगिता,” आयोजकको भनाइ थियो। कार्यक्रमले विद्यार्थीमा राष्ट्रप्रेम, तर्क क्षमता, विचार प्रस्तुत गर्ने शैली, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वजस्ता महत्वपूर्ण पक्षमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतियोगिता असार १५ गते बिहान १० बजे बुढानीलकण्ठ–१० स्थित मिलनचोक पार्टी भेन्युमा आयोजना हुनेछ। कार्यक्रममा शिक्षाविद्, अभिभावक, विद्यार्थी, विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थित रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य