काठमाडौं, असार १० । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सरकारले गठन गरेको छानविन समितिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले समितिको नेतृत्वमा पूर्व मुख्यसचिवलाई राखेर निष्पक्ष छानविन सम्भव नहुने दाबी गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा छानविन समिति गठन गरिएको जानकारी गराएका थिए। तर उक्त समितिप्रति तत्कालै असन्तुष्टि जनाउँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारमाथि गम्भीर आरोप लगाए।
‘सरकारले आफ्नो गोजीका मान्छेलाई राखेर बनाएको समितिबाट निष्पक्ष छानविनको अपेक्षा गर्नु मूर्खता हो,’ वाग्लेले भने, ‘शंकरदास बैरागी त तीर्थराज भट्टराईसँग अर्किड कोलोनीमा मर्निङ वाक गर्ने साथी हुन्। हामी संसदीय छानविन समिति वा पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा समिति खोजिरहेका थियौं।’
रास्वपाले गठन गरिएको वर्तमान समितिलाई अस्वीकार्य ठहर गर्दै वैकल्पिक समिति गठन नभएसम्म विश्वास नहुने स्पष्ट पारेको छ।
त्यस्तै, राप्रपाले पनि छानविन समितिप्रति असहमति जनाएको छ। पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले समितिको नेतृत्व गर्ने व्यक्तिले वर्तमान सरकारका मन्त्रीहरूको निष्पक्ष छानविन गर्न सक्दैन भन्ने धारणा राखे। ‘पूर्व मुख्यसचिवको नेतृत्वमा समितिले बहालवाला मन्त्री छानबिन गर्छ भन्ने पत्याउनु नै मूर्खता हो,’ उनले भने।
राप्रपाले आफुहरू मागअनुसारको समिति नबन्दा सम्म प्रतिनिधि सभा बैठक बहिष्कार गर्ने निर्णय लिएको जनाएको छ।
सरकारले भने विपक्षी दलहरूको आपत्तिबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर प्रमुख दुई दलको असन्तुष्टि र सदन बहिष्कारको चेतावनीसँगै भिजिट भिसा प्रकरणले अब थप राजनीतिक रूप लिने देखिएको छ।

