काठमाडौं, ८ असार । संसद अवरुद्ध भएको ५७ दिनपछि माओवादी केन्द्रले एकाएक अडान फिर्ता लिँदै निशर्त संसद खोल्ने निर्णय गर्दा राजनीतिक वृत्त चकित छ। गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिन आयोगको माग गर्दै अवरोध जारी राखेको माओवादीको अचानक ‘यू-टर्न’ रहस्यमय देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो कदम सामान्य छैन। एक वाम विश्लेषक भन्छन्, “शेरबहादुर देउवासँग ३० मिनेटको गोप्य भेटपछि प्रचण्डको अडान फिर्ता हुनु भित्र गम्भीर समीकरण लुकेको संकेत हो।” माओवादीले सत्ताका लागि कहिले कांग्रेस त कहिले एमालेको काँध टेक्ने रणनीति अघिल्लो कार्यकालदेखि नै अपनाउँदै आएको विश्लेषकहरूको भनाइ छ।
भिजिट भिसा प्रकरणमा गृहसचिवलाई प्रधानमन्त्री ओलीले सिधै पत्र लेखेपछि कांग्रेस–एमालेबीचको अविश्वास झनै गहिरिएको छ। यस्तो अवस्थामा माओवादीले सत्ता समीकरण परिवर्तनका लागि मार्ग खोल्ने उद्देश्यसाथ संसद खोल्ने निर्णय गरेको बुझिन्छ।
दुई बुँदे सहमतिपछि माओवादीले पुरानै ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति दोहोर्याएको भन्दै कार्यकर्तामाझ असन्तोष चुलिएको छ। यता नेकपा (एस) अध्यक्ष माधव नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, गृहमन्त्री लेखकको राजीनामा र देउवा–प्रचण्ड भेटवार्ता यो समीकरणसँग गाँसिएको देखिन्छ।
राजनीतिक विश्लेषकहरू भन्छन्– “संसद अवरोध हटाउनु राजनीतिक स्थायित्वभन्दा शक्ति सन्तुलन मिलाउने कूटनीतिक कदम हो।” माओवादीको यो निर्णयले सत्तारुढ गठबन्धनको भावी स्वरूप कस्तो बन्ने हो, त्यसको संकेत दिन थालेको छ।

